कतार पुग्दा फेसबुक र टिभीमा मात्र हरियाली देख्न पाइयो

 पुस २०, २०७५ शुक्रबार १३:३८:१ | मेरो कथा मेरो भोगाई

आयुष निरौला, बुद्धशान्ती गाउँपालिका ६, झापा । 

२०६४ सालको कुरा हो । डिप्लोमा पढ्दै थिएँ, घरको आर्थिक अवस्था नाजुक थियो । हामी पाँच जना दाजुबहिनी थियौं । सबैजना कलेज पढ्थ्यौं । म बिर्तामोडमा पढ्थें ।

कलेज आवतजावत गर्ने भाडासमेत हुँदैन थियो । सबै छोराछोरीको एकैपटक कलेजको पैसा तिर्नुपर्ने बेला हुन्थ्यो । त्यो बेला बुवाआमालाई चिन्ता हुने रहेछ । मैले एक दिन आमाबुवाको गफ सुनेँ । उहाँहरु एउटाको त तिरियो, अर्काको कसरी तिर्ने भनेर छलफल गर्दै हुनुहुँदो रहेछ । 

बुवाआमाको यो कुरा सुन्दा एकदमै नरमाइलो लाग्यो । त्यसपछि मैले सोचें, बरु सबैजना पढुन म कमाउँछु । घरमा सुपारी बेचिन्थ्यो त्यो बेला । मैले बुवाआमालाई त्यही मौका पारेर मलाई पासपोर्ट बनाउने पैसा चाहिँ दिनु है म पढ्न विदेश जान्छु भनें । 

एकदिन बुवालाई फकाएर पासपोर्ट बनाउन पनि लगें । तर विदेश जाने प्रक्रिया अघि बढाएको कुरा चाहिँ भनिनँ । मामाका छोरा थिए । उहाँमार्फत नै मैले विदेश जाने प्रक्रिया अघि बढाएको हुँ ।

अन्तर्वार्ता दिएँ । ७२ जना थिए, त्यो कामका लागि अन्तर्वार्ता दिने । त्यसमध्येमा मेरो नाम ६ नम्बरमा निस्कियो । त्यसपछि त मलाई ओहो केही गर्न सकिन्छ कि झैं लाग्यो । 

गाउँमा कम्प्युटर पनि सिकाउँथें । धेरथोर अंग्रेजी पनि आउँथ्यो । सबैले तँ जतिको मानिस विदेश जाँदा कमाउँछस् पनि भने । त्यसपछि म २०६४ सालमा सेक्युरिटीको काममा कतार गएँ । 

म्यानपावरलाई ७० हजार रुपैयाँ बुझाएको हुँ । त्यो पैसा पनि मैले बाहिरबाटै ऋण खोजेर बुझाएँ । कतार त पुगें । तर कस्तो कस्तो लाग्यो देश । यहाँबाट धेरै पैसा कमाइन्छ भनेर गइहालियो ।

त्यहाँ जाँदा त जताततै धुलो मात्र । फेसबुक र टिभीमा मात्र हरियाली देख्न पाइयो । समुन्द्री किनार नजिक खजुरको बोट बाहेक बोटबिरुवा पनि देख्न नपाइने ।

भाषाको पनि समस्या भयो । मलाई हिन्दी आउँदैन थियो । त्यता त हिन्दी बोल्दा रहेछन, कि त अरबी । आफूलाई यी भाषा नै नआउने । अंग्रेजी कम बोलिने रहेछ । 

घरमा फोन गर्दा माइली बहिनीको विवाह रहेछ । मलाई त यस्तो नराम्रो लाग्यो कि कुरै नगरौं नेपालको मात्र याद आउँथ्यो । मैले त कतार पुगेको २२ दिनमा नै राजीनामा दिएँ । मैले राजीनामा दिएको थाहा पाएपछि मलाई अन्तर्वार्ता लिने व्यक्तिले मलाई सम्झाए । 

उनकै प्रयासमा मलाई राम्रो लोकेसनमा काम पनि लगाइयो । त्यसपछि त राम्रो नै भयो ।  बस्दा बस्दा साढे ६ वर्ष बसेको पत्तो नै भएन । घरमा आवतजावत चलिरह्यो ।

सुरुवातमा त ९५० रियाल थियो मासिक तलब । तर ६ वर्षको बीचमा मैले कतारमा निकै प्रगति गरें । कतार पुगेको सात महिनापछि यहाँ सिकेको कम्प्युटरको सीप काम लाग्यो ।

कन्ट्रोल इन्चार्ज हुँदै सुपरभाइजर भएँ । फर्किने बेलामा त म एडमिन, सेफ्टी र सेक्युरिटीको कोअर्डिनेटर भएको थिएँ । तलब पनि पाँच हजार रियालभन्दा माथि नै आउँथ्यो । 

त्यहाँ छँदा दसैँ, तिहार र आमाको मुख हेर्ने दिन साह्रै याद आउँथ्यो । कतारमा कमाएकै पैसाले घर बनाइयो । जग्गा किनियो । सबै जनाको विवाह पनि भयो । यसो सोचेँ, अब त देशमै पनि केही गर्न सकिन्छ जस्तो लाग्यो । अनि फर्किएँ । सन् २०१४ मा फर्किएको हुँ । 

हार्डवयर पसल गर्ने योजना थियो । तर त्यो सफल भएन । रेडियो सरगममा समाचार भन्ने मान्छे चाहिएको रहेछ । कस्तो हुँदो रहेछ भनेर गएको राम्रो नै लाग्यो । अहिले पनि रेडियो सनराइजमा काम गर्छु । कतारमा पाँच हजार रियालभन्दा माथि तलब खाएर काम गरेका मान्छे यहाँ ५७ सय रुपैयाँमा काम थालेँ । 

साथीभाइ मिलेर स्टिल ग्रिल र आल्मुनियमको पसल पनि खोलेका छौं । यहाँको स्थानीय पत्रिका र अनलाइनमा पनि काम गर्छु । सबै गर्दा मासिक ३० हजार रुपैयाँसम्म बचाउँछु । मरुभूमिमा त्यतिका दुःख गरें । अहिले यही दुःख गरिरहेको छु । विदेशको भन्दा पैसा कम छ तर म त्यहाँभन्दा खुसी छु । 

अन्तिम अपडेट: माघ ३, २०७५

तपाईको प्रतिक्रिया