नेपाल ट्रष्टको १०८ रोपनी जग्गामा नगरपालिकाले लगायो पर्खाल

 पुस २०, २०७५ शुक्रबार १९:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुर नगरपालिका १  सल्लाघारीमा नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले पर्खाल निर्माण कार्य सुरु गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पर्खाल निर्माणको शिलन्यास गर्नुभयो । उक्त जग्गाको संरक्षण र सदुपयोग गर्ने उदेश्यले नगरपालिकाले ९८ लाख रुपैयाँको लागतमा जग्गाको वरिपरी नै पर्खाल निर्माण गर्ने भएको हो ।

शिलन्यास पछि कार्यक्रममा बोल्दै सांसद सुवालले नेपाल ट्रष्टको ऐनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ट्रष्टको नाममा रहेको जग्गा उपयोग गर्न मिल्ने व्यवस्था गरेको बताउँदै जग्गामा विश्व विद्यालय निर्माण गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले संचालन गरेको सात वटा कलेजमा ७६ जिल्लाका विद्यार्थीहरुले सस्तो शुल्कमा अध्ययन गरिरहेको बताउँदै उहाँले नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गर्न सरकारले स्वीकृत दिनुपर्ने बताउनुभयो ।

उपभोक्ता समिति मार्फत पर्खाल निर्माण गर्न लागेको बताउँदै उहाँले उपभोक्ता समिति मार्फत काम गर्दा १० प्रतिशत राख्नु पर्ने व्यवस्था सरकारले खारेज गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले १०८ रोपनी २ आना १ पैसा क्षेत्रफल रहेको यो जग्गा अतिक्रमणको चपेटामा परेर दुई रोपनी हराएको बताउनुभयो । नगरपालिकाले नापजाच गरी नक्सा पास गर्दा हाल यहाँ १ रोपनी ६ आना मात्रै जग्गा रहकाले अतिक्रमण र दुरुपयोग रोक्दै जग्गाको संरक्षण गर्न नगरपालिकाले पर्खाल निर्माण गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्खाल लगाएर यो जग्गाको संरक्षण गर्न नेपाल ट्रष्टलाई पत्र पठाएर जानकारी दिएका छौ, यो जग्गामा ख्वप विश्व विद्यालय र मेडिकल कलेज निर्माण गर्न सरकारसँग माग गरिरहे पनि अझै चासो दिएको छैन ।’ नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले तत्कालीन राजा वीरेन्द्र शाहदेखि अहिलेसम्मका प्रधानमन्त्रीलाई पनि ख्वप विश्वविद्यालय बनाउने स्वीकृत प्रदान गर्न र जग्गा प्रदान गर्न माग गरेको बताउनुभयो ।

ख्वप विश्वविद्यालय स्वीकृतका लागि संसदमा विद्येयक पेश भएको ११ वर्ष बित्दा पनि विद्येयक पास नगरेको बताउँदै उहाँले यो जग्गामा कुनै व्यापारीक क्षेत्र वा खेल मैदान बनाउन नहुने र ख्वप विद्यालय बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले दुरुपयोग भइरहेको नेपाल ट्रष्टको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै उपभोगका लागि सरकारसँग जग्गा हस्तान्तरणको प्रक्रिया भने पूरा गर्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले यहाँको जग्गामा भौतिक संरचना निर्माणका लागि प्रहरी प्रशासनको तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीयको जग्गा अधिग्रहण गरी राजपरिवारको नाममा रहेको उक्त जग्गा गणतन्त्र आएपछि नेपाल ट्रष्टको नाममा रहेको छ भने सरकारले भक्तपुरको खुल्ला क्षेत्र समेत घोषणा गरेको उक्त जग्गामा नगरपालिकाले चार फिट अग्लो र त्यसमाथि तीन फिट जाली रहने गरी पर्खाल निर्माण सम्पन्न गर्ने भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया