एउटै मान्छे : श्रीमतीको पनि बाबा, छोराछोरीको पनि बाबा !

 पुस २१, २०७५ शनिबार ९:४०:५५ | मिलन तिमिल्सिना
unn.prixa.net

‘बाबा हजुरको कपडा कति फोहोर, अर्को चेन्ज गरेर अफिस जानुस् न’ भात खाएर निस्कन लागेका काकालाई काकीले भनिन् ।

काकासँगै स्कुल जान लागेकी सानी छोरीको पेन्सिल हराएछ । छोरीले भनिन्, ‘बाबा त्यहाँ पसलमा पेन्सिल किन्नुपर्छ है ?’

काकालाई काकीले पनि बाबा भनिन्, छोरीले पनि ! वास्तवमा काका छोरीको बाबा हुन् कि काकीको ? काका र छोरी हिँडेपछि मैले काकीलाई सोधेँ, ‘काकी ल भन्नुहोस् काका तपाईँको बाबा कि छोरीको ?’

काकी एकछिन अकमकाइन् । अनि उल्टै मलाई प्रश्न गरिन्, ‘ल तिमी नै भन न त, काकालाई मैले के भनेर बोलाउने ?’
काकाको नाम समुद्र, काकीको नाम सरला । काकाले काकीलाई सरला भनेर बोलाउँछन् । ‘त्यसो भए तपाईँले पनि समुद्र भनेर बोलाउँदा के होला ?’काकीलाई मैले उपाय सुनाएँ ।

‘मैले काकालाई नाम काढेर बोलाएको तिम्रो हजुरबा, हजुरआमाले सुन्नुभयो भने के होला ?’, काकी अलमलिइन् ।

हो पनि, काकाले सरला भनेर बोलाएजस्तो काकीले समुद्र भनेर बोलाउँदा त्यति सुहाउन्न । काकाले काकीलाई तिमी भन्ने भएकाले पो नाम काढ्न सजिलो भयो । तर काकीले त काकालाई तपाईँ भनेर बोलाउनुपर्छ । तपाईँ भन्ने मान्छेको नाम कसरी काढ्ने ? काकाले नाम काढेजस्तो काकीले पनि नाम नै काढेर समुद्र भनेर बोलाउन मिल्दैन कि भन्ने मलाई पनि लाग्यो । त्यसपछि मैले सम्बोधनका अरु उपाय सोच्न थालेँ ।

काका र काकीको छोरीको नाम प्रेरणा हो । ‘प्रेरणाका बा भनेर बोलाउँदा के होला ?’ मैले अर्को उपाय सुनाएँ ।

‘धत् यस्तो अप्ठ्यारोसँग पनि कसैले बोलाइरहोस्, प्रेरणाका बा रे ?’ काकी मुर्छा परेर हाँसिन् ।

‘आ...म त बाबा नै भनेर बोलाउँछु, अरुले पनि त आफ्नो लोग्नेलाई बाबा, ड्याडी नै भन्छन्’ काकीले तर्क गरिन् ।

‘काकालाई बाबा भन्दा तपाईं त काकाको छोरी हुनुभयो, अनि प्रेरणा चाहिँ बहिनी । बाबा र छोरी श्रीमान–श्रीमती कसरी हुन सक्छ ? अनि आफ्नै छोरीलाई बहिनी भन्न मिल्छ ?’ मैले नाता केलाउँदै गएपछि काकी फेरि पनि अलमलमा परिन् ।तर काकालाई बाबाको सट्टा के भनेर बोलाउने भन्ने विकल्प निकाल्न सकिनन् । 

आमाले सिध्याइन् हजुरआमा !

म महिला भएको भए आफ्नो श्रीमानलाई के भनेर सम्बोधन गर्थें होला भनेर मलाई कहिलेकाहीँ खुल्दुली लाग्छ । मेरी श्रीमतीले चाहिँ मलाई बाबा भन्दिनन् । ए बुढो भनेर बोलाउँछिन् । अरु कसैकसैले पनि श्रीमानलाई बुढो भन्ने गरेको सुनेको छु । केहीले ड्याडी पनि भन्दा रहेछन् । छोराछोरीले बाबुलाई बाबा भन्दा श्रीमतीले पनि श्रीमानलाई बाबा भन्दा रहेछन् । अनि छोराछोरीले ड्याडी भन्दा उनीहरुका आमाले पनि श्रीमानलाई ड्याडी भन्दा रहेछन् ।

बुढो भन्नुभन्दा बाबा र ड्याडी भन्दा शान पनि हुँदो रहेछ । तर एउटा पुरुष छोराछोरीको पनि बाबा र ड्याडी, श्रीमतीको पनि बाबा र ड्याडी कसरी हुन सक्छ भनेर दिमाग तातिन्छ । उसो भए श्रीमतीले श्रीमानलाई के भनेर सम्बोधन गर्दा ठीक होला त ? सम्झँदै जाँदा दिमागमा अलि सानो बेलाको याद आयो । बा आँगनको छेउमै उभिरहेको बेलामा आमा भन्नुहुन्थ्यो ‘बाबु बालाई भात खान जानु भन्देउ त ।’

बालाई बोलाउने हामी छोराछोरी नदेखेको बेला चाहिँ आमा अलि अप्ठ्यारोगरेर बालाई भन्नुहुन्थ्यो, ‘सुन्नुहोस् त, भात पाक्यो है, खान आउनुहोस् ।’

अहिलेसम्म पनि आमाले बालाई सम्बोधन गरेर बोलाएकोसुनेको छैन । गाउँघरमा अरु काकी, आमाहरुले चाहिँ काका र बाहरुलाई बोलाउँदा ‘छोराका बाउ, छोरीका बा, छोरोमान्छे’ भन्ने गर्छन् ।

अहिलेका छोरी–बुहारीले आआफ्ना श्रीमानलाई नाम काढेर बोलाउनेदेखि बाबा र ड्याडी नै भन्नेसम्मको चलन चलाइसकेपनि धेरै आमाहरुले बाहरुलाई सम्बोधन गर्ने शब्द नै फेला पार्नुभएको छैन । हाम्रा बा, हजुरबाहरुले पनि आमाहरुलाई उसैगरी ‘छोराकी आमा, छोरोको आमा भनेर सम्बोधन गर्नुहुन्छ । तर काका, दाइहरुले भने काकी र भाउजुहरुलाई नाम काढेर बोलाउँछन् ।

हिजोआज श्रीमानले श्रीमतीलाई सम्बोधन गरेर बोलाउन सजिलो छ । नाम भनेर बोलाउँदा पुग्यो । तर श्रीमतीलाई भने सजिलो छैन । कसैकसैले सर भन्छन्, कसैले हाम्रो मान्छे पनि भन्दा रहेछन् । अनि केही केहीले चाहिँ श्रीमानलाई नामै काढेर पनि बोलाउँदा रहेछन् । श्रीमानले चाहिँ श्रीमतीलाई नाम काढेर बोलाउँदा हुन्छ भने श्रीमतीले पनि श्रीमानलाई नामै काढेर बोलाउँदा फरक पर्दैन । तर हिजोआजका धेरै श्रीमतीले श्रीमानलाई बाबा र ड्याडी नै भन्न मन पराउँछन् ।

आफ्नो श्रीमान अर्थात लोग्नेलाई छोराछोरीले झैं आफूले पनि ड्याडी र बाबा भनेर बोलाउने कि अरु केही विकल्प खोज्ने ?‘हैन ड्याडी र बाबा ठीक छ, अरुलाई केको टाउको दुखाई’ भनेर जवाफ दिने श्रीमतीको संख्या धेरै छ । 

तर एउटा पुरुष आफ्ना छोराछोरीको मात्र बाबा या ड्याडी हो, श्रीमतीको होइन । यति कुरा थाहा हुँदाहुँदै पनि श्रीमतीले श्रीमानलाई बाबा या ड्याडी भनिरहने हो भने उनले आफ्नै श्रीमानलाई अप्ठ्यारोमा पारिरहेकी हुन्छिन् ।

छोराछोरीको पनि बाबा, श्रीमतीको पनि बाबा, अनि कहिलेकाहीँ बाआमाको पनि बाबा सुन्दा बिचरो त्यो पुरुष आफ्नै नियत र परिवारसँगको नाता सम्बन्ध सम्झेर बहुलाउन थाल्यो भने कसको जिम्मेवारी ? श्रीमतीहरुलाई चेतना भया !

माथ्लोघरका हजुरबा कसका मात्रै बाउ !

 

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

6 Comments

  • Dal Bahadur

    Aug. 29, 2021, 1:45 p.m.

    दुबैले दुबैको नाम सम्बोधन गर्ने, बुढा बुढि भन्ने, श्रीमान श्रीमती भन्ने, तिन वटा विकल्प सबै भन्दा राम्रा हुन।

  •  0 Reply
  • Deepak Nk

    July 23, 2021, 8:24 a.m.

    सुमधुर स्वरमा बुढो भनेको जस्तो अरु केहि सुहाउ दैन।

  •  0 Reply
  • बिजय

    June 4, 2021, 3:47 p.m.

    हामी त दुबैले एक अर्कालाई 'सानू' भनेर सम्बोधन गर्छौं। यसो गर्दा बराबर माया , बराबर सम्मान हुने रहेछ।

  •  0 Reply
  • Andy

    March 10, 2021, 2:32 p.m.

    श्रीमतीले "हजुर" भन्दा कसो होला ?

  •  0 Reply
  • Shabnam

    April 24, 2020, 2:50 p.m.

    म बहिनीलाई सानै देखि "बाबा" भनेर बोलाउँथे / "बाबा" "सानु" "राजा" मायाले भनेको हो / राजा भन्ने बित्तिकै सांचिकै राजा होइन नि , मायाले भनेको हो / त्यस्तै बाबा भनेको बुवा भनेको होइन, मायालु सम्बोधन मात्र हो / म मेरो श्रीमानलाइ तिमी भन्न नसकेर, या नाम लिन नसकेर होइन, म उसलाई तिमी नै भन्छु अनि बाबा पनि ...श्रीमान श्रीमतीले एकअर्कालाई गर्ने सम्बोधन माथि अरुको सोच हावी हुनुभएन नि / Nice article

  •  1 Reply
  • अतुल पोखरेल

    Jan. 10, 2019, 8:59 p.m.

    साह्रै घतलाग्दो लेख रहेछ । मलाई लाग्छ, सबै भन्दा त श्रीमतीले श्रीमानलाई नामले बोलाएको नै राम्रो हो । तर एउटी बुहारीलाई शुरुशुरुका दिनमा नयाँ सामाजिक प्रयोग गर्ने छूट हुँदैन । उनले घरमा लोग्नेको भन्दा बढी सासू ससुरा र अरु सदस्यको शान्तीमा खलल नपुगोस भन्नेमा सचेत रहेर बोल्नु ब्यबहार गर्नु पर्ने हुन्छ । एकपटक बानी बसाएपछि त्यो त्यो तोड्न निक्कै गारो हुन्छ । अर्को कुरा, लोग्नेहरु पनि स्वयम् नयाँ तरिका चाहँदैनन् । आफू लोग्ने हो कि बाउ हो भनेर सोच्ने पुरुष एक प्रतिशत भन्दा कम होलान । यो लेखको अन्त्यमा भनेजस्तो बिचरो त्यो पुरुष आफ्नै नियत र परिवारसँगको नाता सम्बन्ध सम्झेर बहुलाउन थाल्यो भने कसको जिम्मेवारी ? भन्ने कुरा चाहीं एक ०. १ % पुरुषमा पनि लागू नहोला किनकि लोग्नेलाई बाबा र ड्याडी मात्र होइन, आजकल आफ्नै छोरालाई खुशीसाथ "भाई" भनेर बोलाउने आमाबाउको संख्या बढ्दो छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया