एउटै टुना माछा ३४ करोड ७२ लाखमा किनबेच !

 पुस २१, २०७५ शनिबार १९:२५:५६ | रासस
unn.prixa.net

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात ३४ करोड ७२ लाख रुपैयाँमा खरिद गरेका छन् ।

जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछाको मूल्य प्रतिकेजी झण्डै १२ लाख ४९ हजार रुपैयाँ पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना प्रजातिको माछा किनबेच भएको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

‘टुना किङ’ को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गर्नुभएको थियो । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गर्नुभएको थियो । ‘यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु’, जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताउनुभयो ।

‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्’, उहाँले बताउनुभयो । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया