कोरिया छाडेर खोरियामा रमाउँदै !

 पुस २३, २०७५ सोमबार १३:५५:१७ | रासस
unn.prixa.net

बाग्लुङ – पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो ।

काठमाडौंमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनुभयो । 

कोरियामा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आउनुभएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उहाँले १० बाख्रबाट बाख्रापालन थाल्नुभएको हो । 

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआउनुभएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै तीन लाख रुपैयाँ खर्चिनुभएको थियो । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उहाँले कुखुरापालनसँगै तरकारीखेती गर्दै आउनुभएको छ । 

‘बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु’, उहाँले भन्नुभयो । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आउनुभएको छ । ‘महिनैपिच्छे आम्दानी हुने भएपछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु’, उहाँले भन्नुभयो । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उहाँलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर  ३० हजार रुपैयाँ आम्दानी हुन्छ । उहाँको काममा श्रीमती हेमाले सहयोग गर्दै आउनुभएको छ् । 

आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्नुहुन्छ । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । ‘झण्डै दुई सय केराको बिरुवा लगाएको छु’, उहाँले भन्नुभयोे, ‘दुई वर्षमा १५ लाख रुपैयाँको केरा बेच्ने योजना छ ।’ लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको संख्यामा कमी आएको उहाँ बताउनुहुन्छ । समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया