उत्तर प्रदेशका मुख्यमन्त्री योगीको स्वागतमा ७३ लाख खर्च !

 पुस २३, २०७५ सोमबार १४:१३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको स्वागत सत्कारमा प्रदेश २ सरकारले ७३ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।

गएको मंसिर २६ गते सीताराम विवाहपञ्चमी महोत्सवमा जन्तीको नेतृत्व गर्दै सहभागी हुन आएका मुख्यमन्त्री योगीको प्रदेश २ सरकार  मधेश भवनमा स्वागत सत्कार गरेका थियो ।

उहाँलाई मधेश भवनमा अभिनन्दनसहित ५६ व्यञ्जन भोजनले स्वागत गरिएको थियो । योगीको स्वागतमा अयोध्याबाट आएका साधुसन्तलगायत अभिन्नदन कार्यक्रममा सहभागी अतिथिगणको लागि  १ हजार १ मुर्तेलाई ५६ व्यञ्जन भोजन (भण्डारा) खुवाइएको थियो ।

योगीको स्वागत सत्कार र दिवाभोजमा प्रदेश २ सरकारको ७३ लाख ८ हजार १ सय ४५ रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उज्यालो सहकर्मी शैलेन्द्र महतोले सूचनाको हक प्रयोग गरी योगीको स्वागत सत्कारमा भएको खर्च विवरण माग्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले  उपलब्ध गराएको सूचनामा सबभन्दा बढी खर्च टेन्ट–पण्डालमा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत एवं सूचना अधिकारी पदम पोखरेलद्धारा हस्ताक्षरित सूचना विवरणमा प्रदेश सरकारले मधेश भवनमा निर्माण गरको टेन्ट पण्डाल, गेट निर्माण, साउण्ड सिस्टम, कुर्सी फूलमाला ३८ लाख ८४ हजार ७ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै भोज भण्डारामा ५६ लाख ५१ हजार ३ सय, कार्ड छपाई, फल्याक्स बोर्ड र प्रचार प्रसारलगायत विविधमा ७ लाख १४ हजार ५ सय ५६ र योगीलाई दिएको उपहारमा ५७ हजार ५ सय रुपैयाँ गरी जम्मा ७३ लाख ८ हजार १ सय ४५ रुपैयाँ खर्च भएको जनाएको छ ।

कार्यालयका अनुसार सबै खर्च मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत समेत भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया