घोडाको नाम कसरी राखिन्छ ? के काममा प्रयोग हुन्छन् नेपाली सेनाका घोडाहरु ?

 पुस २३, २०७५ सोमबार १६:५५:४६ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – ‘बुसेफ्यालस’ अर्थात महान सम्राट अलेक्जेण्डरको घोडा । जसले अलेक्जेण्डरलाई युद्धभूमिमा कैयौँ पटक मृत्युको मुखबाट बँचाएको थियो । राजा सुद्धोदनको दरबारमा सबैभन्दा चतुर र भगवान गौतम बुद्धको प्रिय घोडा थियो कण्ठक । देवता र दानवको समुन्द्रमन्थन हुँदा निस्केका १४ रत्नमध्येको एक रत्न घोडा थियो, जसको नाम थियो उच्चैश्रावा । 

यी उदाहरणले परापूर्वकालदेखि नै घोडाहरुका नाम राख्ने गरेको यथार्थतालाई दर्शाउँछ । कसैले आफ्नो शौख पूरा गर्न त कसैले यातायातको साधनको रुपमा त कसैले व्यवसायिक प्रयोगको लागि घोडा पाल्ने गर्छन् । परापूर्वकालमा युद्धभूमिमा सेनाहरुले प्रयोग गर्ने प्रमुख साधन नै घोडा हुने गथ्र्यो । अहिले पनि सेनाले आफ्ना विभिन्न प्रयोजनको लागि घोडा पाल्ने गरेका छन् । 

घोडा उतपादनको लागि नेपाली सेनाको आफ्नै हर्स ब्रिडिङ सेन्टर अर्थात घोडा प्रजनन् केन्द्र पनि रहेको छ, जुन भरतपुरमा रहेको कालिबहादुर गणसँगै रहेको छ । त्यहाँ प्रजनन् गराइएका घोडाहरुलाई काठमाडौंमा रहेको नेपाल क्याबलरीमा लगेर ट्रेनिङ गराइन्छ ।


वि.स.२०४१ साल पुस १४ गते स्थापना भएको घोडा प्रजनन् केन्द्रमा अहिले ६७ वटा घोडा र ६ वटा गधा पनि रहेका छन् । त्यसमध्ये २५ भाले र ४८ पोथी घोडा रहेका छन् । 

कस्ता प्रजातिका घोडाहरु छन् नेपाली सेनासँग ?

नेपाली सेनासँग पर्चेरियन ब्रिड, थरो ब्रिड र नेपाली रैथाने जातको पोनी घोडा गरी तीन प्रकारका घोडाहरु छन् । पर्चेरियन र नोराइकन ब्रिडलाई ड्राफ्ट हर्स पनि भनिन्छ, जुन बग्गी तान्न प्रयोग हुन्छ । अर्को लाइट हर्स हो, जुन हर्स राइडिङमा प्रयोग गरिन्छ । लाइट हर्स अन्तर्गत थरो ब्रिड र अरबियन ब्रिड पर्दछन् । तर अहिले नेपाली सेनासँग अरेबियन ब्रिड नरहेको त्यहाँका प्राविधिक डाक्टर सेनानी मुसरुप्रसाद साहले बताउनुभयो । 

यस्तै पोनी घोडाहरु घोडेजात्रामा रेस गर्नको लागि प्रयोगमा आउँछन् । अनिवार्य रुपमा ६/७ वटा पोनी घोडा रेसमा प्रयोग गरिनुपर्ने हुन्छ । हनुमान ढोका लगायत ऐतिहासिक ठाउँ तथा  मन्दिर क्षेत्रमा पनि पोनी घोडालाई छोड्ने गरिन्छ । 

स्थापना कालमा घोडाहरुका माउलाई इन्जा पाकिस्तान अष्ट्रेलियाबाट ल्याइएको थियो । पछि यतै ब्रिडिङ गरेर तिनीहरुको सङ्ख्यामा वृद्धि गरिएको हो । 
सामान्यतया घोडाको आयु २० देखि २८ वर्षसम्म हुन्छ । तीन वर्षमा घोडा प्रजनन योग्य हुने डाक्टर साहले बताउनुभयो । उहाँका अनुसार प्रजननयोग्य भाले घोडालाई स्टालियन र पोथी घोडालाई बुडमियर भनिन्छ । 

घोडाको नाम राख्ने तरिका

‘१९९३’ आमा र ‘हिन्दुस्तानी’ बुवाबाट विस. २०६८ सालमा ‘आँचल’को जन्म भयो । दुईटै घोडा भारतबाट ल्याइएकाले बछेरीको नाम पनि त्यहीँको भाषा सुहाउँदो राखिएको शाहले बताउनुभयो ।

यसै वर्षको वैशाखमा  भारतले पाँचवटा घोडा नेपाललाई उपहार दिएको थियो ।  उनीहरुको नाम स्वेता, प्रियंका, संगिना, आँचल र स्वस्तिमा राखिएको छ । नाम राख्नको लागि घोडाहरुको तीनपुस्ते वंशावली सुरक्षित राखिन्छ । जसले गर्दा बुवा आमाको नाम दोहोरिँदैन र चिन्न सजिलो हुन्छ । पछि ब्रिडिङ गराउँदा मिक्स हुने खतरा पनि रहँदैन ।

अहिले प्रजनन् केन्द्रमा गण्डकी नामको पोथी घोडा पनि छ । निभा र गण्डकीले अब चाँडै बच्चा पाउने भएका छन् । तिनीहरुबाट जन्मेको बच्चाको नाम के राख्ने भन्नेबारे बछेडा या बछेडीमध्ये के जन्मिन्छ त्यसले निर्धारण गर्ने त्यहाँका प्राविधिकहरु बताउनुहुन्छ ।

कसैको नाम जन्मेको वर्षको आधारमा त कसैको ऋतुको आधारमा पनि राख्ने गरिन्छ । बछेडाको नाम बुवाआमाको नामसँग मिल्दोजुल्दो पनि राखिन्छ । प्रायः भाले घोडाको नाम केटामान्छे र पोथी घोडाको नाम केटी मान्छेसँग मिल्ने राखिएको छ ।

जस्तै भाले घोडाको नाम स्वस्तिक, प्रभात, पृथ्वी, आकाश, बाबु शर्मा, फायर वे आदि छ भने पोथी घोडाको नाम संगिना, आँचल, प्रियंका आदि राखिएको छ ।
अहिले घोडा प्रजनन् केन्द्रमा रहेका घोडाहरु स्थापना समयमा नै भारत, पाकिस्तान तथा अष्ट्रेलियाबाट ल्याइएका घोडाहरुको ब्रिडिङ गराएर जन्माइएको हो । 
बच्चा जन्माउनको लागि एउटै जातको भालेपोथी हुनुपर्छ । त्यसमा पनि हाडनाता नपर्ने गरी ब्रिडिङ गराउनुपर्ने हुन्छ । 

जात विपरीत र हाडनातामा ब्रिडिङ गराउँदा त्यसको नस्ल बिग्रने डा. साह बताउनुहुन्छ । 

के काममा प्रयोग हुन्छन् सेनाका घोडाहरु ?

सेनाले आफूसँग भएका घोडाहरुलाई मुख्यतया तीन काममा प्रयोग हुने भनेर ब्रिफिङ गरेको छ । एक, शुभ साइत तथा सेनाले उपस्थिति जनाउनुपर्ने राष्ट्रिय स्तरका कार्यक्रममा । दुई, घोडे जात्रा र तीन, विदेशी राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझ्दा ।

यीबाहेक पनि नेपाली सेनाका घोडाहरु अन्य विभिन्न काममा प्रयोग गरिँदै आएका छन् । कुनै पनि कार्यक्रममा घोडाको उपस्थितिलाई शुभको प्रतिक मान्ने गरिन्छ । 

सेनालाई घोडाको तालिम अनिवार्य नै हुन्छ, त्यसको लागि पनि घोडाको आवश्यकता पर्ने हुन्छ । सैनिक दिवस अथवा विभिन्न मार्चपासका कार्यक्रममा पनि सेनाले घोडाको प्रयोग गर्दै आएको छ । यस्तै विभिन्न मठ मन्दिरमा पनि नेपाली सेनाले घोडाहरु छोडेको छ । हनुमान ढोका तथा पुरा ऐतिहासिक ठाउँहरुमा सेनामा घोडा छोड्ने चलन छ । यसरी घोडालाई मठमन्दिरमा छोड्दा देवी देवाता खुसी हुने र युद्धमा विजय प्राप्त गर्न शक्ति मिल्ने मान्यता रहँदै आएको डा. साह बताउनुहुन्छ ।

अन्तिम अपडेट: साउन २९, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया