यस्तो बन्यो ‘समर लभ’ को ट्रेलर

 पुस २३, २०७५ सोमबार १७:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – माघ २५ गतेबाट भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने सिनेमा ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा ‘समर लभ’ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा अतीत र सायाको माया प्रेम, रोमान्स र विछोड देखाइएको छ ।

यो सिनेमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । सिनेमाको निर्देशन मुस्कान ढकालले गरेका हुन् । उनले यसअघि सफल सिनेमा ‘नाइँ नभन्नू ल ३’ निर्देशन गरेका थिए ।  उपन्यासले प्रस्तुत गरेका सबै कुराहरुलाई बुझेर सिनेमा निर्माण गरिएको निर्देशक ढकालले बताए । 

यस्तै उपन्यासका लेखक सुबिन भट्टराईले सिनेमाको ट्रेलर आफूलाई निकै चित्त बुझेको बताए । उनले आफ्नो पुस्तकलाई सिनेमाले न्याय गरेको बताए । सिनेमामा चर्चित उपन्यास ‘समर लभ’का लेखक सुबिन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुबिन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत तथा स्वर रहेको छ । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

सिनेमा‘समर लभ’नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमामा सरोज खनाल,सुरज सिंह ठकुरी, ओम प्रतिक,आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया