पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
लमजुङ – सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेमा रहेको विद्याज्योति माध्यमिक विद्यालयमा खाना महोत्सव सञ्चालन गरिएको छ ।
विद्यालयको हिरक महोत्सवको उपलक्ष्यमा विद्याज्योति बाल क्लबको आयोजना तथा विद्याज्योति हिरक महोत्सव मूल आयोजक समितिको सहयोगमा मंगलबार विद्यालयमा एकदिने खाना महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवका प्रमुख अतिथि एवम् लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक वर्षे बालक रियन्स मगर, ३ वर्षे बालक सविन गुरुङ र ५ वर्षे बालक रश्जिन डुम्राकोटीलाई खीर र तरकारी खुवाएर खाना महोत्सवको उद्घाटन गर्नुभएको हो ।
विद्यार्थी व्यवहारिक सिकाइमा लागेकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ । व्यवहारिक र जीवनपयोगी शिक्षा आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । खाना महोत्सवमा विद्यालयका विद्यार्थीले चिया, कफी, खीर, सेल रोटी, खुर्मा, तरकारी, अचार, समोसा, मोमो, चाउमिन लगायतका विभिन्न परिकार तयार पारेका थिए ।
खाना महोत्सवमा आएका शिक्षक, विद्यार्थी, अभिभावकहरुले विद्यार्थीले तयार पारेको परिकार किनेर खाएका थिए ।
‘बाल क्लबको कोषमा रहेको ४५ हजारबाट केही रकम खर्च गरी खाना महोत्सवमा विभिन्न परिकार तयार पारेका हौँ । तयार पारेको परिकार महोत्सवमा आउनुभएका शिक्षक, अभिभावक, विद्यार्थीहरुले किनेर खाइदिनुभएको छ । यसले हाम्रो कोषमा रकम बढ्नेमा हामी आशावादी छौँ’, बाल क्लबकी अध्यक्ष कविता गोतामेले भन्नुभयो ।
कोषमा एक लाख रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विद्यालयमा गठित बाल क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईंरहेको छ ।
विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि पनि विद्यालयमा खाना महोत्सव सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर केसीले बताउनुभयो । ‘यो जिल्लामै नौलौ प्रयास हो । यसलाई अब आउने वर्षहरुमा पनि निरन्तरता दिनेछौँ’, उहाँले भन्नुभयो ।
परम्परागत संस्कृति जगेर्नामा टेवा
खाना महोत्सवले विद्यार्थीमा सिकाइका साथै परम्परागत संस्कृति जगेर्नामा पनि टेवा पुर्याएको विद्यालयका सहायक प्रअ राजिव पण्डितले बताउनुभयो । ‘महोत्सव हुनु अगाडि विद्यार्थीले आमा समूहको रोहवरमा आफैले सालको पातको टपरी लगाएका थिए । महोत्सवमा आफै खाना पकाएका छन् । परिकार टपरीमै राखेरै बेचेका छन् । यसले सिकाइका साथै संस्कृति जगेर्नामा पनि टेवा पुर्याएको छ’, उहाँले थप्नुभयो ।
विद्यालयका विद्यार्थीले खाना महोत्सवको आयोजना गर्नु सराहनीय र उदाहरणीय काम भएको भन्दै अभिभावक श्रीकृष्ण कोइरालाले खुशी व्यक्त गर्नुभयो ।‘खाना महोत्सवमा आएर विद्यार्थीले तयार पारेको परिकार पनि चाखियो । साह्रै मिठो लाग्यो । यसले विद्यार्थीको सिकाइमा सघाएको छ’, उहाँले भन्नुभयो ।
खाना महोत्सवकै अवसरमा विद्यार्थीले मौलिक भेषभूषामा सजिएर विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।