‘गोपी’माथि श्रममन्त्री गोकर्ण विष्टको चासो

 पुस २५, २०७५ बुधबार ७:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारमा मन्त्रालयको कार्यकक्षमा मंगलबार मन्त्रीले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । 

मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए । 

‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दाएकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्म प्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’ 

मन्त्री विष्टले आफूले पनि नेपाली फिल्म हेर्ने गरेको र मौलिक फिल्मलाई प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए । भेटघाटका क्रममा उनले फिल्मको बजेट र सुटिङसम्बन्धी जिज्ञासा पनि राखेका थिए । 

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई आफ्नो उद्देश्यमा धेरथोर भए पनि सफल भएको महसुस भएको छ ।’ 

लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषि कर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । उनले पनि मन्त्रीको फिल्म प्रतिको चासोले ‘गोपी’लाई मात्र होइन, मौलिक कथामा फिल्म बनाउन चाहने थुप्रै फिल्म कर्मीलाई प्रेरित गर्ने बताए ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया