‘प्रहरीमा जागिर खाने आशमा आइयो : आँखा झिम्काउन सकिएन, फेल भइयो’

 पुस २५, २०७५ बुधबार १३:१०:५५ | विमल बिष्ट
unn.prixa.net

प्रहरी जवानमा  भर्ना हुन आएकाहरुको शारीरिक तन्दुरुस्ती हेर्नु हुँदै तालिम केन्द्र प्रमुख एसएसपी रामकृपाल साह

डोटी – सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान भर्नामा अधिकांश युवायुवती आँखा झिम्काउन नस्कदा फेल हुन थालेका छन् । 

प्रहरी तालिम केन्द्रले खोलेको प्रहरी जवानमा आवेदन भरेका अधिकांश युवायुवती दुवै आँखा झिम्काउन नस्कदा फेल हुन थालेको बताइएको छ । 

यही पुस ५ गतेबाट सुरु गरेको भर्ना छनौट प्रक्रियामा अधिकांश युवा युवती आँखा झिम्काउन नस्दा फालिन थालेको दार्चुलाबाट प्रहरी जवानका लागि आवेदन भरेका दिपक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको सेवा गरौँला भनी प्रहरीमा जागिर खाने आशमा आइयो, आँखा झिम्काउन सकिएन फेल भइयो ।’

धामीमात्र नभै उनीजस्ता दजर्नौँ युवा युवती आँखा झिम्काउन नस्दा फेल हुन थालेपछि निरास हुँदै घर फर्किन थालेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले आफूलाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाबाट जस्तो गर्नु भन्ने परिपत्र आएको छ त्यसैका आधारमा भर्ना छनौट प्रक्रिया गरिरहेको बताउँदै आएको छ । 

तालिम केन्द्रका एकजना प्रहरी अधिकारीका अनुसार प्रहरी जवान हुनका लागि एक–एक गरी दुवै आँखा चिम्लन सक्ने, शारीरिक तन्दुरस्तीमा योग्य हुनु पर्ने भन लिखित पत्र आएकाले त्यसैका आधारमा भर्ना छनौट गरिएको हो । फेल भएका युवा युवती आँखा झिम्काउन नसक्दैमा नफालिएको तथा विभिन्न कारणले फेल हुने गरेको भर्ना छनौटका अध्यक्ष तथा तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल साहको दाबी छ ।

‘कोही दौडमा फेल हुन्छन् त कोही साधारण बियरिङमा’, उहाँले भन्नुभयो, ‘सबैलाई एउटैमा फेल भए भन्न मिल्दैन् फेल हुनाको विभिन्न कारण छ ।’ यस पटक सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवान पदका लागि करिब ६ हजार एक सय ९८ जना युवा युवतीले आवेदन भरेका छन् ।

आँखा झिम्काउने जस्तो सामान्य चिजमा समेत फेल हुन थालेपछि यहाँका अधिकांश आवेदन भरेका युवा युवतीमा निरास छाउन थालेको बाजुराका सुनिल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला आवेदन हाल्दा यो यो कुरा गर्नु पर्छ भनिएन । हामीले पनि घरमा केही गरेनौँ । यहाँ आउदा आँखा झिम्काउ भन्छन्, सकिँदैन । प्रहरीका नियम पनि वर्षैपिच्छे बदलिन्छन् ।’ 

यसपटकको भर्नामा नेपाल प्रहरीले दुईवटासम्म दाँत किराले खाएको वा भाँचिएको भए पनि लिने नियम बनाएको छ । यतिमात्र नभई प्रहरी तालिम केन्द्रले भर्ना छनौट प्रक्रिया निष्पक्ष तथा पारदर्शी ढंगले सुरुका लागि विभिन्न अनुगमन समिति समेत बनाएको छ । 

अनुगमन समितिमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, गुल्म, लोकसेवा आयोग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि समेत रहेका छन् भने सञ्चारकर्मीलाई पनि भर्ना छनौट प्रक्रिया हेर्न तथा समाचार सम्प्रेषणका लागि फोटो खिच्न खुल्ला गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया