एक वर्षपछि सिनेमामा नायिका अश्लेषा

 असार ३, २०७५ आइतबार १८:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अभिनेत्री अश्लेषा ठकुरीले ‘प्रेम गीत २’ बाट डेब्यू गर्दा उनले नेपाली सिनेमामा राम्रो बजार लिने धेरैले अनुमान गरेका थिए ।

सिनेमामा अनुबन्धित भएसँगै उनको लुक्सलाई धेरैले तारिफ गरे । तर सिनेमा प्रदर्शनमा आएपछि भने उनको चर्चा रोकियो । उनले पहिलो सिनेमामा गरेको अभिनयलाई धेरैले निन्दा गरे ।

सिनेमामा उनको अभिनय सम्झना लायक नभएका समाचारहरु केही अनलाइन पोर्टलहरुमा प्रकाशित भए जसले अश्लेषाको करिअरमा केही हदसम्म धक्का लाग्यो । पहिलो सिनेमा प्रदर्शनमा आएको झण्डै एक वर्षसम्म अन्य सिनेमा साइन नगर्नुले पनि बीचमा उनलाई सिनेमा नपाएका कारण काम नगरेको भन्ने खालका प्रतिकृयाहरु आइरहे ।

तर अश्लेषाले आफूलाई आएका यस्ता प्रतिकृयाहरुका कारण हरेश भने खाइनन् । उनीख लगातार अर्को सिनेमाको तयारीमा जुटिन् । उनले कसैलाई सफाई दिन जरुरी ठानिनन् । पहिलो सिनेमा प्रदर्शनमा आएको झण्डै एक वर्षमा हालै मात्र उनले दोस्रो सिनेमा साइन गरेकी छिन् । 

उनलाई डेब्यू गराउने निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको सिनेमा ‘मेरी मामु’ मा उनी फाइनल भएकी छिन् । यस सिनेमामा उनको जोडी ‘रानी’ डेब्यू नायक सारुक ताम्राकार रहनेछन् । 

यस सिनेमामा अश्लेषाको भूमिका कस्तो रहने भन्ने विषयमा केही पनि खुलाइएको छैन । तर उनको भूमिका दर्शकले मन पराउने निर्माता सेनको भनाई छ । यस सिनेमामा निर्माता सेनका छोरा आयुब सेन र नव–नायिका कुसुम गुरुङ यस अगाडि नै फाइनल भैसकेका छन् । 

यो सिनेमा केही दिनमै फ्लोरमा जानेछ । सिनेमामा नायिका भूवन चन्द, नव–कलाकार दुर्गा मल्ल, बालकलाकारहरु कृजन गौतम र शुभम बिष्टलाई पनि फाइनल गरिएको छ ।

यो सिनेमामा यम थापाको लेखन तथा निर्देशन रहनेछ । सिनेमा भदौ १५ गतेबाट प्रदर्शनमा आउनेछ । सिनेमालाई एउटै मितिमा विश्वव्यापी रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया