थारु बस्तीमा माघीको रौनक

 पुस २५, २०७५ बुधबार १७:५०:१ | हेमराज शर्मा

दाङ – थारुहरुको महान पर्व माघी नजिकिँदै गर्दा दाङमा त्यसको रौनक सुरु भएको छ ।

थारु बाहुल क्षेत्र दाङसहित बाँके, बर्दिया, कैलाली र कञ्जनपुरमा थारुहरुले माघीलाई विषेश धुमधामले मनाउने गर्दछन । माघीलाई उनीहरुले नयाँ वर्षका रुपमा लिएर मनाउँछन । माघी अन्र्तगत बुधवार दाङका थारुहरुले सौडियारमा धुमधामसँग माघी महोत्सव मनाएका छन । महोत्सवमा विभिन्न प्रकारका थारु नाच, भेषभुषा, सांस्कृत झाँकी प्रस्तुत गरिएको थियो ।

महोत्सवको उद्घटना गर्दै प्रदेश नम्बर ५ का सांसद अमरबहादुर डाँगीले थारु संस्कृतिको संरक्षणका लागि युवाहरु जागरुप हुनुपर्ने बताउनुभएको छ । घोराही उप–महानगरपालिका वडा नम्बर ७ ले बुधबार सौडियारमा आयोजना गरेको माघी महोत्सव कार्यक्रममा बोल्दै डाँगीले अहिले थारु समुदायमा परम्परागत संस्कृति क्रमशः हराउँदै गएको भन्दै त्यसको विकास र संरक्षणका लागि थारु युवाहरुले पहल थाल्नुपर्ने बताउनुभएको हो ।

थारु संस्कृतिको रुपमा भूयार र मतहवा प्रथाको अहिले पनि महत्व रहेको भन्दै उहाँले ती संस्थाको संरक्षण र परिस्कृत गराउनका लागि प्रदेश सरकारले बिषेश योजना बनाई रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया