सप्तरीको मुहार फेर्ने योजनामा उप–प्रधानमन्त्री यादव : रिङरोडको शिलान्यास, मेडिकल कलेजको जग्गा निरीक्षण

 पुस २६, २०७५ बिहिबार ९:०:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – जिल्लाको विभिन्न स्थानमा नयाँ योजनाहरुको शिलान्यास गर्न उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितको टोली राजविराज आउन लागेका छन् ।

उप–प्रधानमन्त्री यादवसँगै शहरी विकास मन्त्री मो. इस्तियाक राइन सहितको टोली राजविराज आउन लागेका हुन् । राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एनआईसीयू सेवाको शुभारम्भ उप–प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवले गर्न लागेका छन् । अस्पतालमा देखिएको क्रमिक सुधारसँगै पछिल्लोपटक एनआईसीयू सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

अस्पताल परिसरमै कुल ७६ करोडको लागतमा निर्माण हुने तीन सय शैय्याको भवनको शिलान्यास समेत उप–प्रधानमन्त्री यादवले गर्ने कार्यक्रम रहेको छ । यो भवन स्वास्थ्य मन्त्रालयको लगानीमा निर्माण हुन लागेको छ ।

यस्तै भवन निर्माण तथा सहरी विकास मन्त्रालयको सहयोगमा ६२ करोडको लगानीमा राजविराज नगरक्षेत्रलाई छुने गरी निर्माण हुन लागेको सहरी सडकको शिलान्याससमेत गरिने छ । राजविराज नगरपालिका अन्तर्गत झल्ही नहर नजिक यो सडकको शिलान्यास उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादव र शहरी विकास मन्त्री मो. इस्तियाक राइनद्वारा हुने कार्यक्रम तय भएको संघीय समाजवादी फोरम नेपालका प्रदेश मुख्य सचिव शम्भु झाले जानकारी दिनुभयो । 

यस्तै सप्तरी जिल्लाको महत्वकांक्षी योजनाको रुपमा रहेको रामराजाप्रसाद सिंह शिक्षण अस्पतालकालागि जग्गा अवलोकन गर्न उप–प्रधान तथा स्वास्थ्यमन्त्री यादवसमेतको टोली बिहीबार विहान राजविराज नगरपालिका वडा नम्बर–१० को बिरौल पुग्ने कार्यक्रम रहेको छ । टोलीले त्यहाँ पुगेर सम्भाव्यताबारे अध्ययन गर्ने जनाइएको छ ।

यता रामराजाप्रसाद सिंह शिक्षण अस्पतालकालागि पहिलो चरणको नाप जाँचलगायतका कामहरु पूरा भइसकेको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय स्तरको यो कलेजकालागि कम्तीमा ५० बिघा आवश्यक रहेकोले बिरौलको हुलाकी सडकदेखि उत्तर ४६ बिघा र दक्षिणतर्फको १६ बिघासमेत गरी कुल ६२ बिघा जमिन उपयुक्त छ । 

राजविराज नगरपालिकाले यो ऐलानी जग्गाको सम्पूर्ण कागजी प्रक्रिया पुर्याएर रामराजाप्रसाद सिंह शिक्षण अस्पतालकालागि बिहीबारै उप–प्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया