तीनलाखले रोजगारी पाउने ठाउँमा खै सामाजिक सुरक्षा ?

 पुस २६, २०७५ बिहिबार १०:२०:१७ | मिलन तिमिल्सिना
unn.prixa.net

अबको पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने र देशभित्रै कामको अवसर सृजना गर्ने सरकारको लक्ष्य छ । यसअनुसार केही काम सुरु भए पनि भैरहेका श्रम क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने काममा सरकारको ध्यान पुगेको देखिदैन । यसकै एउटा उदाहरण हो, इँटा भट्टाको रोजगारी ।

देशभित्रै रोजगारी मिल्ने धेरै क्षेत्रमध्ये एउटा मुख्य ठाउँ हो, इँटा भट्टा । पछिल्लो तथ्यांक अनुसार, देशभर ११ सय इँटा भट्टा छन् । यी सबै इँटा भट्टामा ६ महिनाको लागि तीन लाखभन्दा धेरैले रोजगारी पाउन सक्छन् ।

मंसिरदेखि देशभरका सबै इँटा भट्टामा एकैपटक काम सुरु भएको छ ।इँटा भट्टामा माटो मुछ्ने, इँटा बनाउने, इँटा बोक्ने, पोल्ने र पोलिसकेपछि हार मिलाएर राख्नेसम्मको काम हुन्छ । अर्थात एउटा इँटा भट्टामा माटो मुछ्नेदेखि इँटा बोक्नेसम्मको काम पाइन्छ ।

एउटा इँटा बनाउँदा कामदारले एक रुपैयाँभन्दा धेरै आम्दानी गर्छ । एकजनाले दिनमा सरदर एकहजार इँटा बनाउन सक्छ । एकै दिनमा दुई हजार, पच्चीस सय इँटा बनाउनेहरु पनि हुन्छन् । 

यही हिसाबले पनि एकजनाले इँटा बनाएर महिनाको कम्तिमा ३० हजार रुपैयाँ कमाउँछ । ५०/६० हजार रुपैयाँ कमाउनेहरु पनि छन् । ६ महिना इँटा बनाएर घर फर्किंदा कम्तिमा डेढ, दुई लाख रुपैयाँ वचत हुन्छ । इँटा पोल्ने र बोक्नेको कमाई पनि यही हाराहारीमा हुने कामदारहरु बताउँछन् ।

यति धेरै कमाई हुने ठाउँ भएर पनि युवा विदेशिएका कारण इँटा बनाउने कामको लागि भारतीय मजदुरको भर पर्नुपर्ने बाध्यता रहेको इँटा व्यवसायीको भनाई छ । तर अवसरभन्दा धेरै जोखिम र चुनौती भएकाले धेरै नेपाली इँटा भट्टाको रोजगारीमा आकर्षित हुन सकेका छैनन् ।

चुनौती र गर्नुपर्ने काम

बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने एउटा विकल्प इँटा भट्टा भए पनि यहाँ काम गर्ने कामदारको सामाजिक सुरक्षामा ध्यान दिइएको छैन । जति धेरै काम गर्यो उति धेरै पैसा पाइने लोभले मजदुर ज्यान नै जोखिममा पारेर काम गर्न बाध्य छन् । सँगै उनीहरुका बालबालिका पनि जोखिममा परेका छन् ।

बालबालिकाको शिक्षा

इँटा बनाउने सिजन मंसिरदेखि वैशाख/जेठसम्म खेतीपातीको काम हुँदैन । त्यसैले काठमाडौं आसपास र तराईका केही जिल्लाबाट धेरै मजदुर परिवारसहित इँटा बनाउने काममा जुट्छन् । बावुआमा ढोकामै ताला लगाएर हिँडेपछि केटाकेटी एक्लै घरमा बस्न सक्दैनन् । उनीहरु बावुआमाकै पछि लागेर हिँड्न बाध्य हुन्छन् ।

६ महिना बावुआमासँगै इँटा भट्टामा बस्दा उनीहरुले पढ्न पाउँदैनन् । त्यसमाथि अलि हुर्केका बालबालिकाले बावुआमालाई इँटा बनाउने काममा सहयोग पनि गर्छन् । छोराछोरीलाई पढ्न पठाउनभन्दा इँटा बनाउन लगाएमा तत्काललाई फाइदा हुन्छ भन्ने सोचाई केही मजदुरको छ । त्यसैले पनि उनीहरुले हुर्किएका बालबालिकालाई आफूसँगै काममा ल्याएका हुन्छन् ।

तर कतिपय मजदुरलाई चाहिँ छोराछोरीले पढ्न पाएनन् भन्ने चिन्ता पनि छ । तर इँटा भट्टामा बसेर छोराछोरीलाई पढाउन सकिंदैन । केही इँटा भट्टाले अस्थायी कक्षा सञ्चालन गरे पनि त्यसमा ए, बी, सी, डी बाहेक अरु पढाई हुँदैन ।

इँटा भट्टामा बावुआमासँगै बस्न बाध्य बालबालिकाको लागि सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ । एकातर्फ छोराछोरीलाई पढाउनुपर्छ भन्ने जनचेतना नै फैलाउनुपर्ने आवश्यकता छ ।अर्कोतर्फ बावुआमासँगै आएका बालबालिकाको अनुगमन तथा वर्गीकरण गरेर स्थानीय सरकारले इँटा भट्टा नजिकका स्कुलमा उनीहरुलाई पढाउने व्यवस्था मिलाउन सक्नुपर्छ ।

स्वास्थ्य

इँटा भट्टाको रोजगारीमा मजदुरको स्वास्थ्य सबैभन्दा बढी जोखिममा देखिन्छ । एक त पुस, माघको चिसो मौसम । त्यसमाथि हिलो र चिसो माटो डल्ला पारेर इँटा बनाउने काम । अनि खुला ठाउँमा काँचै इँटा चाङ लगाएर बनाइएको छाप्रोको बसाई ।

दिन रात चिसोकै बसाई र चिसोकै कामले कतिपय मजदुर र उनीहरुका बालबालिका बिरामी पर्ने गरेका छन् । चिसोले निमोनिया हुँदा यसअघि कतिपय बालबालिका र मजदुरको समेत ज्यान गएको मजदुरहरु नै बताउँछन् ।

धुलो र धुवाँको असर पनि उस्तै छ । इँटा बनाउने र बोक्ने ठाउँमा धुलो बढी उड्छ । अझ काँचो इँटा पोल्दा चिम्नीबाट निस्कने धुवाँले वरपरका बस्तीमा समेत असर पुर्याइरहेको छ । पहिले बस्ती नभएको ठाउँमा इँटा भट्टा थियो, अहिले इँटा भट्टा भएका ठाउँमा बस्ती बाक्लो भैसकेको छ । यसबाट इँटा भट्टामा काम गर्ने मजदुरसँगै वरपरका बासिन्दा समेत धुवाँ र धुलोको मारमा परेका छन् ।

इँटा भट्टाको यस्तो असर रोक्ने मुख्य दायित्व सम्बन्धित व्यवसायीकै हो । आफ्नो इँटा भट्टामा काम गर्ने मजदुरलाई न्यानो ठाउँ तथा कपडा उपलव्ध गराउनुपर्छ । धुलो र धुवाँको असरबाट जोगाउन मजदुरलाई विशेष मास्क र पञ्जा वितरण गर्नुपर्छ । अनि सरकारले पनि इँटा भट्टाको अनुगमन गरेर मजदुरको स्वास्थ्यमा असर परेको छ कि छैन ध्यान दिनुपर्छ ।

यस्तै बाक्लो बस्तीभित्र रहेका इँटा भट्टालाई खुला ठाउँमा स्थानान्तरण गर्ने विकल्पतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

श्रमको अन्तर्राष्ट्रिय मान्यता

अन्तर्राष्ट्रिय श्रम सँगठन, आइएलओको मान्यताअनुसार सबै श्रमिकले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनुपर्छ । अर्थात आठ घण्टाभन्दा धेरै काम गर्नु हुँदैन । तर इँटा भट्टामा ज्यालादारीमा काम गर्ने मजदुरले आठ घण्टाभन्दा धेरै काम गर्छन् । जति धेरै इँटा बनाउन सक्यो, उति नै धेरै कमाई हुने भएकाले धेरैले मध्यरातमा समेत काम गरिरहेका हुन्छन् । 

इँटा उद्योगीले नै श्रमको अन्तर्राष्ट्रिय मान्यता विपरीत काममा लगाएका त होइनन् । तर उद्योगीको नीतिले मजदुर यसरी काम गर्न बाध्य भएका हुन् । त्यसैले आठ घण्टाभन्दा बढी काम गर्न नदिने र आठ घण्टासम्म काम गर्ने मजदुरलाई निश्चित ज्याला निर्धारण गर्ने हो भने मजदुरले बढी काम गर्न बाध्य हुँदैन थिए । यसतर्फ सम्बन्धित इँटा उद्योगीसँगै सरकारले पनि नीति नियममा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

असुरक्षित बसाई

इँटा बनाउने प्रायः सबै मजदुर भट्टाकै आसपासमा छाप्रो बनाएर बस्छन् । यस्तो बसाइ असुरक्षित हुन्छ । एक त चिसोको असर, अर्कोतिर व्यवस्थित शौचालय नहुँदा शौच गर्न समस्या । यसबाट महिला र किशोरी बढी असुरक्षित छन् । अनि बस्ने छाप्रोमा ढोका नहुने र ढोका भएमा पनि कच्चा हुने भएकाले इँटा बनाउन आएका धेरै किशोरीको रात डरैडरमा बित्ने गरेको छ ।

इँटा भट्टाको बसाई सुरक्षित र व्यवस्थित बनाउने दायित्व सम्बन्धित उद्योगीकै हो । सरकारले पनि अनुगमन र नियमन गरेर इँटा भट्टाको बसाई व्यवस्थित बनाउन आवश्यक पहल गर्नुपर्ने खाँचो छ ।

अन्त्यमा,

सारांशमा भन्दा बाध्यतात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने धेरै क्षेत्रमध्ये इँटा उद्योग पनि एउटा हो । देशभित्रै रहेका इँटा उद्योगमा ६ महिना तीन लाख मजदुरले प्रत्यक्ष काम पाउँछन् । तर इँटा भट्टामा सामाजिक सुरक्षा छैन । नेपाली युवा स्वदेशको काम छाडेर विदेशिन बाध्य छन् । भारतीय मजदुरको भरमा इँटा उद्योग चलिरहेको छ ।

सरकारले ध्यान दिन सकेमा इँटा भट्टाको कामलाई व्यवस्थित बनाउन सकिन्छ । युवालाई इँटा बनाउने काममै आकर्षित गराउन सकिन्छ । यसको लागि मजदुरमैत्री नीति नियम बनाउनुका साथै भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्छ । इँटा भट्टाको अनुगमन गर्नुपर्छ । 

इँटा भट्टामा काम गर्ने मजदुरलाई निश्चित समय र त्यसअनुसारको ज्याला निर्धारण गर्नुपर्छ । आमाबासँगै आउने बालबालिकाको शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्छ । 

देशभित्रै रोजगारीको वातावरण बनाउने नारा बोक्दै हिँड्ने सरकार र इँटा बनाउने युवा भेटिएनन्, भारतीयकै भर पर्नुपर्यो भन्ने उद्योगीले यसतर्फ ध्यान दिनु पर्दैन ?

यसअघि प्रकाशित लाखकाे आशमा खेतको बासका शृङ्खला 

इँटा बनाउने ठाउँमा पाइलैपिच्छे जोखिम

जीवनकी कान्छी छोरीलाई कसले फकाइदेला ?

स्कुल नभेटेपछि इँटामै ए, बी, सी, डी...

कलेज पढ्ने दुई रोल्पाली किशोरीका सपना इँटाका भारीले थिचिए

इँटासँग साइनो गाँसिएका ६ सन्तान : दुई श्रीमानका, दुई श्रीमतीका र दुई दुवैका !

स्कुलमा ‘लभ’ परेर पढाइ बिग्रियो : पासपोर्टमा कान बिग्रेर काम सप्रियो !

दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

 

अन्तिम अपडेट: भदौ ४, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया