सैनिक प्रवक्ताको जिम्मेवारी ढकाललाई

 पुस २६, २०७५ बिहिबार १२:५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – सहायक रथी यामप्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएकाे छ । गएको एक वर्षदेखि सहायक रथी गोकुल भण्डारी नेपाली सेनाको प्रवक्ताको रुपमा रहि आउनुभएको थियो ।

सहायक रथी गोकुल भण्डारीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी श्री ढकाललाई कार्यभार हस्तान्तरण गर्नु भएको हो ।

जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सबै सञ्चारमाध्यम, प्रकाशक, सम्पादक तथा बिशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी भण्डारीले आभार प्रकट गर्नुभएको छ । 

सूचना अधिकारी तथा सैनिक प्रवक्ताको कार्यकाल सफलतापूर्वक सम्पन गरी आफ्नो कार्यभार नवनियुक्त सैनिक प्रवक्तालाई हस्तान्तरण पश्चात उहाँ नेपाली सेनाको अत्यन्त महत्वपूर्ण तालिम शिक्षालय सैनिक प्रतिष्ठान खरिपाटीमा शिक्षाधिकृतको रुपमा जाँदै हुनुहुन्छ । सुरुमा सेवामा प्रवेश गर्दाको पहिलो ठाउँमा त्यहाँको प्रमुख भएर आफू जान पाउँदा एकदमै खुसी भएको भण्डारीले बताउनुभयो ।

सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया