असुरक्षित जेब्राक्रस : बाटो काट्दा भगवानको नाम जप्नुपर्ने बाध्यता

 पुस २६, २०७५ बिहिबार १३:२६:५६ | बेदानन्द जाेशी
unn.prixa.net

गएको सोमबार काठमाडौंको सामाखुसीमा जेब्राक्रसमा बाटो काटिरहेका पैदल यात्रुलाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको ज्यान गयो । अरु चार जना घाइते भए । 

गाडीको उच्च चाप, मर्मत नगरिएका  साँघुरा सडक र सडक पार गर्नको लागि व्यवस्थित जेब्राक्रस र आकासे पुल नहुँदा यस्ता दुर्घटना बढ्दै गएका छन् । 

नेपाल प्रहरीको तथ्याँकअनुसार यो आर्थिक वर्षको सात महिनामा मात्र काठमाडौं उपत्यकामा गाडी दुर्घटनामा परेर ३९ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै आर्थिक वर्ष २०७४/०७५ मा ६३ जना, आ.व. २०७३/०७४ मा ७९ जना र आ.व. २०७२/०७३ मा ६५ जनाले काठमाडौं उपत्यकाभित्र सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।

जेब्राक्रसमा बाटो काट्दा दुर्घटना भएर ज्यान गुमाएकाहरुको यकिन तथ्याँक नभए पनि कुल संख्याको १० देखि १२  प्रतिशत जति जेब्राक्रसमा बाटो काटिरहेकाहरु हुन सक्ने उपत्यका ट्राफिक विभाग प्रमुख एसएसपी वसन्त पन्तले बताउनुभयो । यसरी जेब्राक्रसमा बाटो काट्ने क्रममा दुर्घटनामा परेर वार्षिक ६ देखि ८ जनाले ज्यान गुमाउने गरेको देखिन्छ ।

काठमाडौंमा जेब्राक्रसको अवस्था

जेब्राक्रसमा बाटो काट्न त्यति सजिलो छैन । सडकमा हुइँकिएर आएका गाडीले कतिबेला ठक्कर दिने हो डराउँदै बाटो काट्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा जेब्राक्रसको रङ्ग खुइलिएर नदेखिने भएका छन् । जेब्राक्रसमा गाडी आफ्नो गति नियन्त्रण नगर्दा पनि पैदल यात्रीलाई बाटो काट्न समस्या हुने गरेको छ ।

गोंगबुकी शारदा भण्डारी काठमाडौंमा जेब्राक्रसमा बाटो काट्न साहै्र नै दुःख हुने गरेको बताउनुहुन्छ । ‘काठमाडौंमा बाटो काट्नु जति गाह्रो मलाई केही लाग्दैन, अगाडि जेब्राक्रस देखेर पनि गाडीहरुले आफ्नो गति घटाउँदैनन् ।’ उहाँले हाँस्दै भन्नुभयो, ‘बाटो काट्दा म त भगवानलाई सम्झिन्छु ।’

कतिपय ठाउँमा ट्राफिक प्रहरीले बाटो काट्नमा सहयोग गरे पनि सबै ठाउँमा प्रहरीको उपस्थिति हुँदैन । ‘बानेश्वर चोकमा बाटो काट्न मात्रै आठ/दश मिनेट पर्खिनुपर्छ,’ सडक छेउमा हिँड्दै गरेका भक्तपुरका अनिस डंगोलले गुनासो गर्नुभयो, ‘बाटो काट्न पाइयो भनेर के खुसी हुनु, बाटो काट्न पर्खिनु नपरे पो खुसीको कुरा हुन्छ ।’

चक्रपथभित्र मात्र अहिले ३ सय जेब्राक्रस छन् । पुरै उपत्यकाभरि करिब एकहजारको सङख्यामा जेब्राक्रस हुनसक्ने ट्राफिक प्रमुख पन्त बताउनुहुन्छ । एक ‘पिक आवर’ मा उपत्यकाभित्र ६५ हजार पैदलयात्रीले बाटो काट्ने गरेको ट्राफिक प्रहरीको तथ्याँकले देखाउँछ ।

अहिले काठमाडौंमा चक्रपथभित्र मात्र ३०० वटा जेब्राक्रस छन् । अझै नयाँ जेब्राक्रस निर्माणको लागि पहल भइरहेको छ । ट्राफिक प्रमुख पन्तका अनुसार थप ५० जेब्राक्रस बनाउने तयारी भइरहेको छ । 

काठमाडौं उपत्यकामा भएका १४ सय ट्राफिक प्रहरीमध्ये १० प्रतिशत प्रहरी जेब्राक्रसमा मात्रै खटिने गरेको पन्तले बताउनुभयो । 

जति प्रयास गरे पनि अवस्था उस्तै 

ट्राफिक प्रहरीले जेब्राक्रसमा हुने सम्भावित दुर्घटनालाई अन्त्य गर्न बिभिन्न समयमा चेतनामुलक कार्यक्रम गर्दै आएको छ । केही समय पहिले जेब्राक्रसको प्रयोग गराउन जेब्राक्रसमा बाटो नकाट्नेलाई जरीवानादेखि पुरस्कारसम्मका अभियान पनि चलाएको थियो ।

बाटो मिच्ने र तोकिएको गति भन्दा बढी गतिमा सवारी हाँक्ने चालकलाई ट्राफिक कारबाही अनुसार जरीवाना र तिनीहरुलाई कक्षा पनि लिने गरिएको छ । तर पनि त्यसको खासै प्रभाव परेको भने देखिंदैन ।

भौतिक पूर्वाधार नबनेसम्म ट्राफिक व्यवस्थापन सम्भव नहुने सडक विभागका प्रवक्ता मुक्ति गौतम बताउनुहुन्छ । ‘यसको लागि सरकारबाटै आकाशे पुल निर्माणदेखि सडक चौडा पार्ने सम्मका कदम उठाउनुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो, ‘यसको लागि नागरिक पनि जिम्मेवार हुनुपर्छ । जहाँ पायो त्यहीँ बाटो नकाट्ने र सवारी चालकले पनि जेब्राक्रसमा गति नियन्त्रण गर्ने गरेमा दुर्घटना कम गर्न सकिन्छ ।’
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया