वाइडबडी जहाज प्रकरणमा मुछिएका व्यक्तिहरुलाई सरकारले तत्काल कारबाही नगर्ने

 पुस २६, २०७५ बिहिबार १८:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- रासस

काठमाडौं – सरकारले वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कारबाही नगर्ने स्पष्ट पारेको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाइडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरुलाई तत्काल कारबाही नगर्ने बताउनु भएको हो । उहाँले सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन आएपछि मात्रै त्यस प्रकरणमा दोषी देखिएकाहरुमाथि कारबाही हुने पनि स्पष्ट पार्नुभयो ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको निर्णयको हेक्का राखेरै सरकारले त्यस प्रकरणका सम्बन्धमा छानबिन गर्न आयोग नै गठन गरेको पनि स्पष्ट पार्नुभयो । यथार्थ विवरण नआई वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएकामाथि कारबाही गर्न हतार हुने सञ्चारमन्त्री बाँस्कोटाको भनाई छ । मन्त्री बाँस्कोटाले सरकारले विमान प्रकरणको ढाकछोप गर्न नलागेको पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

संघीय संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा मुख्य दोषी देखिएको भन्दै नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न र बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पनि संलग्नता रहेको भन्दै कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

मन्त्री बाँस्कोटाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग बमोजिम नै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको दाबी पनि गर्नुभयो । उहाँले वरिष्ठ चिकित्सक केसीको १६औँ आमरण अनसन बुझीनसक्नु भएको प्रतिक्रिया दिँदै सम्बन्धमा बुझ्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

वरिष्ठ चिकित्सक केसीले आफूसँग गरिएको सहमतिविपरीत संसदीय समितिले विधेयक पारित गरेको भन्दै १६औँ पटक इलाममा पुगेर आमरण अनसन सुरु गर्नु भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया