‘लाजै नमानी ग्यासमा पूर्व राजा ज्ञानेन्द्रले पनि सहुलियत लिँदा रहेछन्’

 पुस २६, २०७५ बिहिबार १८:४५:२४ | मातृकाप्रसाद यादव
unn.prixa.net

हामीले धेरै लामो संघर्ष गरेर गणतन्त्र ल्याएका छौँ । त्यसैले हामीले अभिव्यक्ति स्वतन्त्रता पाएका छौँ । नेपाल आयल निगममा विभिन्न समूहले दिने धम्की, माग र आन्दोलनलाई पनि हामीले ल्याएको गणतन्त्रको सफलतासँग  जोडेर हेर्न सकिन्छ । गणतन्त्र ल्याउनको लागि हामीले राजा फाल्नुपर्छ भन्ने हामीहरु जेल जानुपर्‍यो, तर अहिले राजा ल्याउनुपर्छ भनेर आन्दोलन नै गर्दा पनि हामीले सम्मान गरिरहेका छौँ । गणतन्त्र भनेकै यही त हो ।

म मन्त्री भएदेखि मलाई दुईवटा चिजले साह्रै हैरानी बनायो, बदनाम बनाउने प्रयास पनि गर्‍यो । त्यो हो नेपाल आयल निगम र उखु मिल । यी ठाउँमा मैले अनावश्यक भनाई खानुपर्‍यो, आरोप खेप्नुपर्‍यो । 

निगममा प्लालैप्वाल छन् : भाँडा थाप्ने धेरै छन्, टाल्ने कम छन्

नेपाल आयल निगममा प्वाल नै प्वाल छन् । प्वाल परेपछि त चुहिन्छ, त्यो चुहिएको कुरा थाप्नलाई धेरैजना तँछाडमछाड गरिरहेका छन् । ढुवानीकर्ता, ड्राइभर, विक्रेता, मन्त्रालयका सचिव सबैले भाँडो थाप्ने चलन रहेछ । माथिकाले त्यै प्वालबाट भाँडो भर्ने तर जनतालाई सुख्खा हुने । धेरै नै प्वाल थिए, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने । तर अहिले टाल्दा टाल्दा केही कम भएको छ । 

निगमको अहिलेसम्मको अवस्था हेर्दाखेरी आजसम्म यो देशमा आजसम्म सरकार थियो, कि थिएन भनेर  सोच्ने गर्दछु । तर पनि चोरको लागि ताला बेइमानको लागि तमसुक कि के भन्या जस्तो ताला लगाए पनि कहाँ पुरै चुहिन छाडेको छ र ?  त्यस्तै मधेसतिर भन्छन्, रजबुद्धि भन्दा चोरबुद्धि भारी । त्यही भएर त निगमका ताला लागेका ट्यांकरबाट २४-२५ सय लिटर तेल हराएका घटना आइरहेका छन् त । 

आयल निगमका विसंगति बन्द नगरी कसैको पनि कल्याण हुँदैन

आयल निगमलाई हामीले सुधार गर्दैछौँ । बाहिरबाट सुधार गरेर मात्रै भएन, यहीँभित्रका विसंगति अन्त्य नगरेसम्म कसैको पनि कल्याण हुनेवाला छैन । देशको कल्याण त परैको कुरा । अनि अर्को कुरा अब ख्याल गर्नु, गडबडी गर्नेको पनि कल्याण हुनेवाला छैन । यहाँ त यस्तोसम्म पनि सुनिन्छ, मन्त्रीले पैसा मागेको छ, दिनुपर्‍यो रे भनेर निगममा केही मान्छे आउँछन  रे । 

हाम्रा नेताजीहरु (आयल निगमभित्रका ट्रेड युनियन र पेट्रोलियम डिलर तथा ढुवानीकर्ता) त भाषण गरेर जानुभयो । आज उत्सवको दिनमा मैले के–के सुन्नपर्ने हो जस्तो त लागेको थियो । सुनेँ पनि  । तर हामी सबै गडबडमा सहभागी छौँ के । तर बेला बेलामा विष्फोटका कुरा गरे पनि उहाँहरुले पुरै तागत लगाएर हामीलाई सहयोग गरिरहनुभएको छ । उहाँहरुले आफूबाहेक अरु यो क्षेत्रमा छिर्न हुन्न भन्नुभएको छ, त्यसमा चाँहि म सहमत हुन सक्दिनँ  । 

आयल निगमको कछुवा ताल

नौ महिनादेखि मैले पेट्रोलियम पदार्थको विक्रेता नियमावली बनाऔ भनेर बारम्बार भनिरहेको छु । तर अहिलेसम्म बनेको छैन । बल्ल हिजोअस्ति राय सुझावको लागि सार्वजनिक गरियो रे । नौ महिनादेखि मन्त्रीले कराएको करायै छ, तर कसैले टेर्दैन, अब त्यसलाई मन्त्री भन्ने कि के भन्ने ?

तपाईँहरु आफै सोच्नुहोस परिवर्तन गर्न कति गाह्रो छ, आएदेखि मैले कराएको छु, तर एउटा विनियमावली पनि बनेको छैन । व्यवसायीहरुको सिन्डिकेट छ, उहाँहरुले अरुलाई  दिन चाहनुहुन्छ, हो त्यै कुरा फेर्नको लागि विनियमावली नै परिवर्तन भएको छैन खै ।

व्यापारीले च्यालेन्ज गरेर हैरानी

आज त निगमको वार्षिकोत्सव हो, सुखद दिन हो जस्तो लागेको थियो । शुभकामना नै सुनिन्छ जस्तो लागेको थियो । तर यहाँ त साथीहरु (आयल निगम भित्रका ट्रेड युनियन र पेट्रोलियम डिलर तथा ढुवानीकर्ता) ले च्यालेन्ज नै पो गरे ।  म आएदेखि जता पनि च्यालेन्ज नै च्यालेन्ज मात्रै छन्, यहाँ पनि आए । 

जिन्दगीभरि त लडियो, १२-१३ वर्षदेखि लडियो, जेल नेल गैयो । अब त मन्त्री भैयो अलि सुख मिल्ला कि भनेको फेरि च्यालेन्ज आइरहेका छन् । म त भन्छु विस्फोट मारमुंग्रीबाट केही हुँदैन । आउनुस् छलफल गरौँ, समस्याको समाधान त त्यसरी पो हुन्छ त । 

पहिले घाटा घटाउने, अनि मनग्य भाउ घटाउने हो

हामीलाई दसैंको बेलामा झण्डै ४ अर्ब रुपैयाँ घाटा लागेको थियो । उताबाट तेलको भाउ बढेर आयो, तर चाडबाडको मौकामा के भाउ बढाउनु भनेर हामीले बढाएनौँ । अहिले बल्ल अलिअलि घाटा पूर्ति गर्ने प्रयास गरिरहेका छौँ । हामीले केहि समयमा घाटा पूर्ति गर्छौँ । त्यसपछि मनग्य भाउ घटाउने हो । तेलको भाउ घटेपछि गाडी भाडा घटाउनुपर्दैन ?

पछिल्लो समय हामीले तेलको भाउ घटाइरहेका छौँ, तर खै त गाडीको भाडा घटेकै छैन । निजी क्षेत्र कस्तो भैदियो भने तेलको भाउ बढ्न पाएको छैन, भाडा बढाउने, तर तेलको भाउ घट्दा पनि भाडा घटाउने त कुरै गर्दैनन् । 

निगमको सहुलियत लिन लाज लाग्नुपर्ने हो

नेपाल आयल निगमले सहुलियत बाँड्दा हैरान भैसकेको रहेछ । ग्यासमा पूर्व राजा ज्ञानेन्द्रले पनि सहुलियत लिँदा रहेछन् । अहिलेका प्रधानमन्त्रीले त लिने भैहाले । पूर्वप्रधानमन्त्रीहरुले पनि सहुलियतको ग्यास नै लैजाँदा रहेछन् । निगमले धेरैलाई पेट्रोलियम सहुलियत दिने रहेछ । धन हुनेहरुले सहुलियत लिँदा त लाज मान्नुपर्ने हो ।कम्तीमा पूर्वराजा ज्ञानेन्द्रले भन्दिनुपर्थ्यो नि, म त यो सहुलियत लिन्न भनेर । पूर्व प्रधानमन्त्रीहरुले पनि भन्नुपर्थ्यो । मैले पनि भन्नुपर्थ्यो तर भनेको छैन खै । 

अनि २० रुपैयाँको एक कप चिया बेच्नेले पनि त्यही मूल्यमा ग्यास किन्नुपर्ने अनि १ सय रुपैयाँको एक कप बेच्नेले पनि त्यहि मूल्यमा ग्यास पाउने ? खै त सर्वसाधारणलाई सहुलियत ? खसीबखरी, एकै धोकडी भन्या जस्तो पो भयो ।

अब नयाँ जीएम आउनुभएको छ, उहाँले एक्सन लिनुपर्छ । सहुलियत त जसको कम आम्दानी छ उस्ले पो पाउने हो तर हुनेहरुलाई सहुलियत किन दिने ? ठूलाबडा भएर पनि सहुलियत लिएको छ भने अब मिडियामा नाम सार्वजनिक गरिदिनुपर्छ । अनि बल्ल थाहा पाउँछन् ।

घुस भन्ने मेरो अघि उच्चारण पनि गर्न पाइन्नँ

एकजना भाइ आएर मलाई डिपोको हाकिम बनाइदिनुपर्‍यो भनेर माग राखे । किनकी त्यहाँ त काम नगरी जागिर पाक्दो रहेछ । यसो दाँयाबाँया पनि हुँदो रहेछ । यसको अर्थ के हो भने ‘समथिङ इज् गडबड’ ।

म वनमन्त्री हुनुभन्दा अघि चितवन, बाँके, कैलाली, बर्दिया, पर्सा, सिन्धुली उदयपुरलगायतका जिल्लाको डीएफओ हुनको लागि मन्त्रीलाई ५० लाख रुपैयाँसम्म बोकेर आउँथे रे । तर म आएपछि रोकियो । 

एकजनालाई मैले कैलालीमा पठाएँ, मन्त्रीले पैसा नखाइकन कैलालीमा पठायो भनेर उ मख्ख थियो । तर पछि उसले गडबड गरेको थाहा पाएँ, उसलाई मैले कारबाही गरेँ । त्यसपछि त सबै डीएफओले बुझे कि, यो मन्त्रीले त राम्रा भनिएका ठाउँमा पठाउँछ तर सानो गडबडी गर्‍यो भने ठिक पनि गर्दो रहेछ । 

–  नेपाल आयल निगमको ४९ औँ वार्षिकोत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गरेको सम्बोधनको सम्पादित अंश

अन्तिम अपडेट: बैशाख २, २०८१

मातृकाप्रसाद यादव

यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया