स्ववियु चुनावको औचित्य : विवेकशील साझा भन्छ – छैन, अखिल र नेविसंघ भन्छन् – छ

 पुस २७, २०७५ शुक्रबार १२:९:१ | रामचन्द्र मिश्र
unn.prixa.net

काठमाडौं – पाटन संयुक्त क्याम्पसमा स्नातकोत्तरमा पढ्ने सागर राईलाई स्ववियु चुनावबारे चासो नै छैन । उहाँ जाडो बिदामा विद्यार्थी संगठनहरुले सुरु गरेको ‘प्रपोजल राइटिङ’मा सहभागी हुनुहुन्छ र घर फर्कनुहुन्छ ।

‘जाडो बिदाभन्दा अगाडि क्याम्पसमा विभिन्न कार्यक्रमबारे प्रचारप्रसार भएको थियो’, राईले भन्नुभयो, ‘बिदाको सदुपयोग गर्न ‘प्रपोजल राइटिङ’ क्लासमा सहभागी भएको हूँ । कार्यक्रम आफूलाई उपयोगी भएकाले सहभागी हुन आएको हूँ । चुनाव र राजनीतिमा ‘इन्ट्रेस’ भएर होइन ।’

स्नातकोत्तरमै पढ्ने अर्की विद्यार्थी श्रेषा विष्टलाई पनि राजनीतिक मन पर्दैन । ‘म पढ्न क्याम्पस आउने होे’, विष्ट भन्नुहुन्छ, ‘मलाई राजनीतिमा कुनै चासो छैन ।’

पछिल्लो पुस्ताका धेरै विद्यार्थी राजनीतिको कुरा गर्दा यसैगरी नाक खुम्च्याएर हिँड्ने गरेका छन् । केही विद्यार्थी भने राजनीतिक संगठनमा सहभागी पनि हुन्छन । स्ववियु चुनावको तयारी सुरु भए पनि पछिल्लो विद्यार्थी पुस्ता विद्यार्थीलाई यसबारे खासै चासो छैन ।

क्याम्पसभित्र अराजकता, गुण्डागर्दी, भौतिक संरचना तोडफोडजस्ता गतिविधि विद्यार्थी संगठनबाट बेलाबेला हुने गरेका छन् । त्यसो त स्ववियु चुनावकै बेला पनि आगजनी र तोडफोड हुने गरेको छ । गएको दुई वर्ष अघि भृकुटीमण्डपमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसको चुनावका बेला सुरक्षा दिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

स्ववियु चुनावका बेला चक्कु र खुकुरी प्रहार सामान्य घटनाजस्तै हुने गरेका छन् । यी अराजक गतिविधिबाट वाक्क भएका विद्यार्थीलाई राजनीतिप्रति खासै चासो हुँदैन ।

वैकल्पिक राजनीतिका रुपमा उदाएको विवेकशील साझा पार्टीले विद्यार्थी राजनीति गर्न नहुने बताउँदै आएको छ । केही शिक्षाविद्ले पनि विद्यार्थी राजनीतिका कारण शिक्षामा विकृति बढ्दै गइरहेको चिन्ता व्यक्त गर्ने गरेका छन् ।

राणा शासनदेखि प्रत्येक राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको विद्यार्थी संगठनलाई खारेज गर्न नहुने अर्काथरीको तर्क छ । त्रिविले भने आउँदो फागुनमा स्ववीयूको चुनाव मिति तोकिसकेको छ ।

देशका प्रमुख राजनीतिक दलका आ–आफ्नै विद्यार्थी संगठनहरु छन । दलगत रुपमा विभाजित विद्यार्थी संगठनले दलको स्वार्थ अनुसार काम गर्ने गरेको भन्दै धेरैले आलोचना गर्ने गरेका छन् ।

विद्यार्थी राजनीति र स्ववियू  चुनावबारे विद्यार्थी संगठन र दलका भिन्न–भिन्न विचार छन ।

‘विद्यार्थी राजनीतिले भष्ट्राचार र अराजकता निम्त्यायो, स्ववियु चुनावको औचित्य छैन’ 

 विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डे – हामीले चाहिँ शैक्षिक   संस्था तथा पेशागत संगठनमा राजनीति हुनु हुँदैन भनेका छौं । दलिय   भागबण्डाको आधारमा स्ववियु चुनाव हुने गरेका कारण यसमा हाम्रो कुनै   संलग्नता रहँदैन । यो चुनावको औचित्य छैन ।

 मैले केही अगाडि विद्यार्थी संगठनका नेतालाई स्ववियुका तीनवटा मात्रै   उपलब्धि बताइदिनुस् भनेको थिएँ । उहाँले बताउन सक्नुभएन । यसको अर्थ   २०४६ सालपछि विद्यार्थी संगठनको केही उपलब्धि छैन । त्यसैले यसको   आवश्यकता छैन ।

 हामी एजेण्डाको आधारमा विद्यार्थीसँग हातेमालो गर्न सक्छौं । हामी आफ्नै   संगठन बनाएरभन्दा पनि स्वतन्त्र विद्यार्थीलाई सहयोग गरेर शिक्षा क्षेत्रको   सुधारमा सहभागी हुन सक्छौं । जस्तो पुस्ताकालय निर्माणमा हाम्रो   सहभागिता  हुन सक्छ ।

 दलीयकरणकै कारण विश्वविद्यालयका उत्तर पुस्तिका च्यातिन्छ ।   प्राध्यापकदेखि पिएनसम्मको नियुक्ति हुन्छ । एकजना ‘पिएन’ नियुक्त गर्न   दलअनुसारका तीनवटा कोटा खोल्नुपर्ने बाध्यता छ । यसकारण शिक्षा क्षेत्रमा   विकृति आएको हो ।

 हाम्रो एजेण्डा भनेको पेशागत र शैक्षिक क्षेत्रमा दलीय संगठन खारेज गर्नु नै हो । नेकपा र कांग्रेसलाई विद्यार्थी संगठन हटाउन अप्ठ्यारो छ । अहिलेका धेरै नेता विद्यार्थी संगठनबाटै माथि पुगेका हुन । उनीहरुले त्यही कारण विद्यार्थी संगठन खारेज गर्न सक्दैनन् ।

हामीहरुले शिक्षा र पेशागत क्षेत्रका संगठन खारेजको एजेण्डा उठाएको हो । यो एजेण्डालाई अबका विद्यार्थीहरुले पनि सहयोग गर्छन् । उनीहरुले विद्यार्थी संगठन खारेज गरेनन् भने अहिलेका प्रमुख स्थानमा रहेका राजनीतिक दलहरुलाई हामीले प्रतिस्थापन गर्छौं । मलाई लाग्छ अबको पाँच वर्षपछि शिक्षा क्षेत्रमा परिवर्तन हुन्छ ।

हामीहरुले शिक्षा क्षेत्रमा विद्यार्थीका अधिकारका विषय उठान गर्न विद्यार्थी, अभिभावक, शिक्षक मिलाएर कमिटी गठन गर्न सक्छौ । शिक्षा क्षेत्रको सुधार गर्न राज्यबाट मुख्य त शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने हाम्रो योजना हो । तर अहिले भइरहेका विद्यार्थी संगठनका नेताहरु भने विद्यार्थी संगठन खारेज गर्न नहुने बताउँछन् ।

‘स्ववियु सुधार्न आवश्यक छ, खारेज हुन सक्दैन’

 अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष  रञ्जित तामाङ – सरकारी पक्षलाई   विद्यार्थीको अधिकार, हक, हितबारे खबरदारी गर्न पनि विद्यार्थी आन्दोलन   आवश्यक छ । विगतमा स्ववियु विकृत पनि भएको थियो । सबै आस्था बोकेमा   विद्यार्थीहरुबीच वैचारिक एकता थिएन ।

 राजनीतिक परिवर्तनका लागि खबरदारी गर्दा विद्यार्थी आन्दोलन ध्वंसात्मक   भएको हो । त्यसलाई सुधार गरेर जानुपर्छ । विद्यार्थीले प्रतिपक्षको जस्तो   आन्दोलन गर्नुपर्छ । अब व्यवस्था परिवर्तन भएको छ । अब रचनात्मक सुधार   गर्न विद्यार्थी संगठनले काम गनुपर्छ । शैक्षिक व्यवस्था, सीपमूलक शिक्षा र   अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गर्न विद्यार्थीले महत्वपू्र्ण भूमिका   खेल्नुपर्छ ।

 विद्यार्थी संगठनका कारण शिक्षा क्षेत्रमा विकृति आएको होइन । सम्पूर्ण दोष   हामीलाई लगाउन आवश्यक छैन । हो, केही गलत अध्यासहरु भएका छन् । सुधारेर जानुपर्छ । प्राध्यापक, कर्मचारी पनि सुध्रिनुपर्छ । समस्या छन, करेक्सन गर्नुपर्छ । विद्यार्थी संगठनबिना शिक्षा क्षेत्र सुधार हुन सक्दैन ।

केहीले पदको दुरुपयोग गरे भन्दैमा संगठन नै खारेज गर्ने कुरा जायज हुँदैन । हामीले संगठनभित्र रहेका विकृतिहरुलाई राजनीतिक प्रशिक्षणका रुपमा निराकरण गर्नुपर्छ । हामीले पद्धतिअनुसार चल्न सिक्नुपर्छ । हामी त्यही बाटोमा छौं ।

हामीलाई विद्यालय क्षेत्रभित्र ल्याब चाहिएको छ । नयाँ डिजिटल लाइब्रेरी चाहिएको छ । २१ औं शताब्दिअनुसारको शिक्षा चाहिएको छ । सीपसहितको जनशक्ति आवश्यक छ । सबै नागरिकहरुले पढ्न पाउने व्यवस्था आवश्यक छ । यी सबै विषयको लागि स्ववियु आवश्यक छ ।

नेतृत्व विकास गर्न स्ववियु आवश्यक छ : नेविसंघ अध्यक्ष नैनसिंह महर

 मान्छेहरुले कुरो बुझेका छैनन् । विश्वको कुनै पनि विश्वविद्यालयमा   विद्यार्थीको प्रतिनिधित्वका लागि संगठन हुन्छ र त्यसले विश्वविद्यालयमा   सहभागिता जनाउँछ । नेपालमा २०३६ सालपछि स्ववीयूले निकै अग्रस्थानमा   रहेर काम गरेको छ । 

 नेतृत्व विकास गर्न र शैक्षिक उन्नतिका लागि स्ववियु विश्वविद्यालय क्षेत्रमा   रहिरहन आवश्यक छ । जुनसुकै क्षेत्रमा पनि नेतृत्व आवश्यक हुन्छ । नेतृत्व   निर्माण गर्न विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षाका भौतिक   संरचना निर्माणदेखि लिएर शैक्षिक गुणस्तर स्थापना गर्न विद्यार्थी संगठनको   विकल्प छैन ।

 केही गल्ती भएको छ, त्यसैलाई देखाएर सबै गलत छ भन्ने हुँदैन । एक्टरको   कार्यशैलीमा कमजोरी होला । तर संस्था कहिल्यै गलत हुँदैन । केही गल्ती   भएका छन् । सुधार गरेर जानुपर्छ ।

 संगठनमा केही गलत काम भएको छ । प्रध्यापक, कर्मचारी, विद्यार्थी सबै   आफ्नो कामप्रति जिम्मेवार हुनुपर्छ । विद्यार्थी  संगठनै खारेज हुने कुरा होइन ।  प्रजातन्त्रमा समस्याहरु आउँछन् । समस्या हल गरेर  अगाडि बढ्नु नै उत्तम   विकल्प हुन्छ ।

१० प्रतिशत समस्यालाई देखाएर ९० प्रतिशत गलत छ भन्न मिल्दैन । विद्यार्थी राजनीतिबाट लिडरसिपको विकास गर्ने हो । अब भौतिक पूर्वाधार र शैक्षिक विकास दुवै सँगै लैजानुपर्छ । 

अन्तिम अपडेट: फागुन २७, २०७५

रामचन्द्र मिश्र

रामचन्द्र मिश्र उज्यालाेमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया