महाकाली नदीमा पहिलो पटक र्‍याफ्टिङ

 पुस २७, २०७५ शुक्रबार १३:६:४८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – महाकाली नदीमा पहिलो पटक जलयात्रा (र्‍याफ्टिङ) सुरु गरिएको छ । भीमदत्त नगरपालिकाले वडा नम्बर ९ मुसेट्टीदेखि खल्लासम्म पहिलो पटक परीक्षणका रुपमा र्‍याफ्टिङ सुरु गरिएको हो । 

महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवर्द्धन का लागि महाकाली नदीमा र्‍याफ्टिङ परीक्षण गरिएको छ ।  

महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

‘महाकाली नदीमा साहसिक जलायात्रा गरी पर्यटनक आकर्षण गर्न परीक्षणका रुपमा यो कार्य गरिएको छ’ उहाँले भन्नुभयो ‘यसलाई आगामी दिनमा निरन्तरता दिने लक्ष्य लिएर अघि बढेका छौँ ।’

महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि नगरपालिकाले मुसेट्टीसम्म सहज पहुँच मार्ग र नीति नियम बनाएर निरन्तरता दिएको छ । 

आगामी दिनमा निरन्तरता दिने गरी कार्यक्रम बनाउने नगरप्रमुख विष्टले बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाले गएको आर्थिक वर्षमा नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि स्थलगत अध्ययन गरेको थियो । 

यसअघि, भारतीय पक्षले नदीमा र्‍याफि्ट्ङ सञ्चालन गर्दै आए पनि नेपालले अहिलेसम्म चलाउन सञ्चालन गर्न सकेको थिएन । 

भीमदत्त नगरपालिकाले विशिष्ठ व्यक्तिको सहभागितामा पहिलो पटक परीक्षणका रुपमा नदीमा र्‍याफ्टिङ गराएको छ ।

नेकपाका सुदूरपश्चिम अध्यक्ष एवम् पूर्ण उद्योग मन्त्री कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, डडेल्धुराका पूर्व सभापति गजेन्द्र शाहीसहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि सहभागी भएका थिए ।

महाकाली नदीमा गरिएको साहसिक जलायात्रा नयाँ कामको सुरुवात गरिएको उल्लेख गर्दै उनले भीमदत्तको समृद्धिमा सहयोग पुग्ने उपप्रमुख शुशिला चन्दले बताउनुभयो ।

‘हिजोसम्म महाकाली नदीको ढुङ्गा, बालुवा मात्रै प्रयोग गरियो, त्यसको बहुउपयोग सिद्धान्त अनुसार र्‍याफ्टिङको परीक्षण गरिएको छ, यो नयाँ काम हो’ नगरप्रमुख विष्टले भन्नुभयो ‘यसबाट भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ, त्यसले पर्यटन प्रवर्द्धन हुन्छ, स्थानीको जीवन स्तरमा सुधार आउँछ ।’

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया