पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण

 पुस २७, २०७५ शुक्रबार १३:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनबाट सुरु भएकोे र्‍यालीेमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै । तस्बिर : रासस

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो ।

समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

यसैबीच, समारोहमा सहभागी भएका सर्वसाधारणहरुले पृथ्वीनारायण शाहकै योगदानका कारण नेपाली भएर रहन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन । उनीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म दिनमा सार्वजनिक बिदा नदिएकोमा सरकारप्रति असन्तुष्टि पनि जनाएका छन ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रशासनिक कौशललाई ग्रहण गरेर अघि बढ्न पनि नेताहरुलाई सर्वसाधारणको सुझाव छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु भएकाले उहाँको सम्मानमा जन्मजयन्तिको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो ।

पृथ्वी जयन्तीको दिन दिँदै आएको बिदा कटौति गरे पनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाइरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया