‘राष्ट्र निर्माता’ को शालिकमुनि राष्ट्रपतिलाई सलामी(फोटो फिचर)

 पुस २७, २०७५ शुक्रबार १५:२३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामीसमेत अपर्ण गरेको थियो ।

समारोहमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी हुनु भएको थियो ।

समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो । 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु भएकाले उहाँको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो ।

पृथ्वी जयन्तीको दिन दिँदै आएको विदा कटौती गरे पनि सरकारले राष्ट्रिय एकता दिवसलाई आदरभावका साथ मनाइरहेको छ । 

 

सबै तस्बिर - रासस

 

 

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया