प्रियंका सिंह: टिक टककाे भिडियाेदेखि गरुड पुराणकी नायिकासम्म

 पुस २७, २०७५ शुक्रबार १६:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माघ ४ गते बाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन प्रिय‌ंका सिंह । 

उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । काठमाण्डौ नयाँ बानेश्वरकी प्रियंकालाई बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा...हेरेर निर्देशक सुवास कोइरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् । 

उनी त्यतिबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिइन् । त्यतिबेला सयौं टिक टक भिडियोमा उनले गरेको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो । 

टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।

प्रियकालाई फिल्ममा अभिनय गर्दा टिक टकमा अभिनय गरेको जस्तो सजिलो भने लागेन । ‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ,’ उनले अनुभव सुनाइन् ।

चलचित्र गरुड पुराणमा उनलाई फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । 

पहिलो फिल्ममै आफूले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताइन् । प्रियंका स्वभावले कम बोल्ने र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । 

यो फिल्ममा आफ्नो स्वभावभन्दा फरक भूमिका निर्वाह गर्दाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफू पनि त्यो चरित्रजस्तै सबैसँग घुलमिल भएर बोल्ने र हक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकल अलिक खुल्ने कोसिस गर्दैछु ।’

पहिलो चलचित्रबाट निकै आशावादी प्रियंकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो । तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न उनलाई सहज भयो ।

आफूलाई कर्मा, नाजिर, प्रविण सबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताइन् । 
व्यवस्थापनमा स्नातक गर्दै गरेकी प्रियंका अहिले पूर्ण रुपमा सिनेमामै आबद्ध छिन् । 

उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि थियो, तर पहिले गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफू यही फिल्ममा व्यस्त रहेको प्रियंकाले बताइन् । 

उनले गरुड पुराणपछि चलचित्र वृत्तमै अघि बढ्ने आफ्नो योजना सुनाइन् ।  

– उज्यालो र गफगाफ डटकमको सहकार्य 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया