कुकुरले टोक्नेबित्तिकै रेबिज रोगविरुद्धको सुई लगाउन डाक्टरको अनुरोध

 पुस २७, २०७५ शुक्रबार २०:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रेबिज रोगको उपचार सम्भव नभएकाले कुकुरले टोक्नेवित्तिकै रेबिजविरुद्धको सुई लगाउन डाक्टरले आग्रह गरेका छन् ।

दोलखा र बारामा रेबिजका कारण दुईजनाको ज्यान गएपछि डाक्टरले कुकुरले टोक्नेबित्तिकै खोप लागउन आग्रह गरको हुन् । केही स्वास्थ्यकर्मीले नै घरमा पालेको र सुई लगाएको कुकुरले टोक्दा मानिसलाई सुई लगाउन पर्दैन भन्ने गलत सन्देश दिँदा रेबिज लाग्ने खतरा बढेको डाक्टरहरुले बताएका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले दोलखा र बारामा कुकुरले टोकेपछि सही सूचना नहुँदा रेविज लागेको र उनीहरुको ज्यान गएको बताउनुभयो । कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

यो सुई ४ देखि ५ पटकसम्म लगाउनुपर्छ । कुकुरले टोकेपछि तत्काल सुई लगाउदा रेबिजको असर कम गर्न सकिए पनि सुई नलगाउँदा ज्यानै जाने खतरा हुने डाक्टर पुनको भनाई छ ।

रेबिज लागेको व्यक्तिको कुकुरले टोकेको ठाउँमा झमझमाउने, दुख्ने, पानी हावा–पानीसँग डराउने, उत्तेजित र आक्रामक हुने डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । यी लक्षण देखिएका व्यक्तिको स्याहार सुसारमा संलग्नलाई पनि सुई लगाउन उहाँको सुझाव छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया