राष्ट्रवादको जग हाल्ने पृथ्वीनारायण शाह कि केपी ओली ?

 पुस २७, २०७५ शुक्रबार २०:३५:३३ | विष्णु विश्वकर्मा
unn.prixa.net

नेपालमा भूकम्प गएकै वर्ष नेपालको नयाँ संविधान जारी भएर लागू भयो । आफूले भनेको जसरी संविधान निर्माण र जारी गरेको झोकमा भारतले नाकाबन्दी लगायो ।

झण्डै ६ महिना लामो नाकाबन्दी झेल्नु नेपालीका लागि पीडादायी भए पनि गर्वको विषय थियो । कारण हो, स्वतन्त्र नेपाल, स्वाभिमानी नेपाली भनेर पुर्खाको शाख बचाउन सक्नु ।

त्यतिबेला भारतीय नाकाबन्दीको विरोध गर्नेमा सबैभन्दा अगाडि थिए, प्रधानमन्त्री केपी शर्मा ओली । तत्कालीन सशील कोइराला नेतृत्वको सरकार विस्थापित गरेर पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले नाकाबन्दीको विरोधसँगै वीर नेपाली, गोर्खालीको पाठ र इतिहास पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई राम्रैसँग सम्झाउनुभयो ।

तर अहिले समय फेरिएको छ । चट्टानी अडान राख्ने प्रधानमन्त्री ओलीको बोली र व्यवहार पहिलेको जस्तो छैन । ६ महिने भारतीय नाकाबन्दी झेलेकै भरमा साह्रा नेपालीले ओलीलाई सबैभन्दा ठूला राष्ट्रवादी नेता मानेका थिए । तर ओलीको यो राष्ट्रवाद त्यतिबेला उदांगियो, जतिबेला भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण आउँदा ओली सरकारले ‘नाकाबन्दी’ शब्द उच्चारण गर्न पनि प्रतिबन्ध लगायो ।

विरोध गरेकै भरमा राष्ट्रवादी हुने नेताले भारतलाई निलिसकेको अंग्रेज शासकसँग युद्ध गरेर देश जोगाउने पृथ्वीनारायण शाहलाई के भन्ने ? राष्ट्रवादी, राष्ट्रिय एकताका प्रतीक वा एउटा गोर्खे राजा ? 

यो प्रश्नको जवाफ अहिले आफूलाई महान राष्ट्रवादी मान्ने नेता र सत्ताधारीले देलान्, नदेलान् । तर राष्ट्रिय एकता र स्वाभिमानको जग हाल्ने व्यक्तिलाई ज्ञानेन्द्रको ‘निंरकुश शैलीसँग’ दाँजेर उपेक्षा गर्नु राष्ट्रवादी नेताका लागि सुहाउने विषय होइन ।

दोश्रो जनआन्दोलन २०६२÷६३ पछि तत्कालीन विद्रोही नेकपा माओवादी मिसिएर बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले पुस २७ को सार्वजनिक बिदा खारेज गरिदियो । भनिन्छ, यो बिदा खारेज गर्नुका पछाडि तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले जोडबल गर्नु भएको थियो ।

यो जोडबल गर्ने त्यतिबेला पर्दा पछाडिका खेलाडी थिए, तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । जसलाई राजा भन्ने शब्दसँग ठूलो ‘दुस्मनी’ थियो र दुस्मनमाथि विजय हात पार्ने ‘माओवादी जनयुद्ध’का नायक मानिन्छ ।

प्रचण्डकै जोडबलमा पुुस २७ को राष्ट्रिय एकताको दिवस खारेज मात्रै भएन, राष्ट्रिय एकता र मेलमिलापका नायक भनेर कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाई चित्रित गर्ने काम पनि भयो । जबकी बीपी पनि भारतीय हस्तक्षेपविरुद्ध लडेर राष्ट्रवादी नेता हुन सफल भएका थिए । तर बीपीको तुलना नेपालको एकीकरण गर्ने पृथ्वीनारायणसँग हुन सक्दैन ।

‘गिरिजाप्रसादले राष्ट्रिय एकता दिवस खारेज गरे । त्यसपछि पनि बेलाबेला राष्ट्रिय एकता दिवस मनाइन्थ्यो । तर अहिले ओली सरकारले यो दिवस खारेज गर्‍यो’, वरिष्ठ पत्रकार युवराज घिमिरे भन्नुहुन्छ, ‘सार्वजनिक बिदा र दिवस फरक कुरा हो । तर राष्ट्रिय एकताको जग भत्काएर राष्ट्रवादी नेता बन्न सकिन्न ।’ 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दाजु बीपीलाई राष्ट्रिय एकतामा एक्ला नेताका रुपमा उभ्याउन राष्ट्रिय एकता दिवसलाई खारेज गर्नु भएको थियो । त्यसपछि राष्ट्रिय एकता दिवस सत्तामा जो पुग्यो, उसकै ‘मुड’ अनुसार मनाउने गरिएको छ ।

अहिले पनि पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा देउ भन्ने आवाज उठिरहेको छ । यो नै सही हो भन्ने पनि होइन । तर पछिल्लो समय नेताहरुको बोली र व्यवहारको ठेगान नहुँदा कमजोर बनेको राष्ट्रिय एकताको भावनालाई भने जगाउन आवश्यक छ ।

‘वीर पुर्खा र राष्ट्रनिर्माताप्रति सार्वजनिक बिदा दिँदैमा सम्मान हुन्छ भन्ने छैन । राष्ट्रिय एकताको भावना जगाउन र विस्तार गर्न भने निकै आवश्यक छ । यसका लागि सार्वजनिक बिदा नै घोषणा गर्नुपर्दैन’ नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेति भन्नुहुन्छ, ‘तर जुनसुकै दिन भए पनि राष्ट्रिय एकता दिवस र यसको भावना फैलाउन आवश्यक छ ।’
 

अन्तिम अपडेट: चैत १२, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Metaphorical

    Jan. 12, 2019, 8:50 p.m.

    यी दुवै राष्ट्रवादी नभएर अतिवादी हुन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया