बैतडीका स्थानीय तह सचिवविहीन, सेवा प्रवाहमा समस्या

 पुस २८, २०७५ शनिबार १५:२१:९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीका स्थानीय तहका वडाहरुमा सचिव नहुँदा सेवाप्रवाहमा समस्या भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसके पनि कर्मचारीको भने अभाव रहेको छ । वडामा सचिवमा नहुँदा पञ्जिकरणलगायतका कामहरु प्रभावित हुने गरेका जनप्रतिनिधिहरुले बताएका छन् । बैतडीका दशवटै स्थानीय तहका वडा तहमा सचिव नहुँदा प्राविधिक सहायकहरुले सचिवको काम गरिरहेका छन् । 

शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिनुभयो । सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको उहाँको भनाई छ ।

८ वडा रहेको सुर्नया गाउँपालिकाका ३ वडामा सचिव नभएको गाउँपालिकाकी प्रवक्ता हेमन्ती भट्टले बताउनुभयो । वडा नं १, ७ र ८ मा सचिव नहुँदा एकजना सचिवले दुई दुई वडामा काम गर्नुपरेको उहाँको भनाई थियो ।

सिगास गाउँपालिकाका ७ वटा वडा सचिवविहीन रहेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले बताउनुभयो । यस्तै पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाकाको पनि वडा नं ६ र ११ मा सचिव नभएका दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

यस्तै मेलौली नगरपालिकाका ९ वडा मध्ये ५ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकाका ६ वटै वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताउनुभयो । १० वडा रहेको पुरचौंडी नगरपालिकामा एक वडा बाहेक अन्यमा सचिव नभएका प्रवक्ता गौतमप्रसाद भट्टले बताउनुभयोे ।

दोगडाकेदार गाउँपालिकाका ४ वडा सचिवविहीन छन् भने भएका सचिवहरुले पनि गाउँपालिकामा काम गर्नुपरेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । गाउँपालिकामा कर्मचारी नहुँदा सचिवहरुलाई गाउँपालिकामै राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

यसैगरी डिलाशैनी गाउँपालिकाका ७ वडा मध्ये ४ वडा सचिवविहीन रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताउनुभयो । वडामा सचिव नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया