राम्रो काम गर्दै जाँदा उज्ज्वलजीहरुसँग पुनर्मिलन पो भइहाल्छ कि : रवीन्द्र मिश्र

 पुस २८, २०७५ शनिबार १८:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गहन समीक्षा गरेर पार्टीलाई अघि बढाउने बताउनुभएको छ ।

पार्टी फुटेपछि शनिबार पार्टी कार्यालय ललितपुरको बखुण्डोलमा पत्रकार सम्मेलन गरी अध्यक्ष मिश्रले केही नेताले पार्टी छोडेको घटनाले पार्टीभित्र गम्भीर समीक्षा गरी अघि बढ्ने शक्ति मिलेको बताउनुभएको हो ।

केही नेताले पार्टी छाडेर जाँदैमा विचलित भइहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । संयोजक मिश्रले पार्टी विभाजन आफूहरुले कल्पनासम्म नगरेको घटना भएकाले यसले उत्साहमा केही चिसोपन ल्याएपनि सम्हालिँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पार्टी विभाजन गर्ने निर्णय हतारमा गरिएको भन्दै संयोजक मिश्रले पार्टीभित्र केही अन्तरविरोध भए पनि समाधानको बाटो खोज्नुको सट्टा पार्टी फुटाएर बाटो बिराएको टिप्पणी पनि गर्नुभयो ।

संयोजक मिश्रले छुट्टिएर गएका उज्जल थापासँग पछि पुनर्मिलन हुन पनि सक्ने बताउनुभएको थियो । गन्तब्य एकै भएकाले राम्रो काम गर्दै जाँदा पछि भेट हुनसक्ने मिश्रले विश्वास व्यक्त गर्नुभयो । आफूले फेसबुकमा पनि धेरै कुरा लेखेको बताउँदै मिश्रले भन्नुभयो, ‘छिट्टै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको हाम्रै साथीको ओम आध्या रिसोर्ट जाउँला । के थाहा पुनर्मिलन भई पो हाल्छ कि !’

पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सुसंस्कृत वैकल्पिक पार्टी निर्माणको चरणमै रहेका बेला पार्टी विभाजन हुँदा आफूहरुस्तब्ध भएको बताउनुभयो । झण्डै डेढ वर्ष अघि एक भएर बनेको विवेकशील साझा पार्टीबाट एक संयोजक उज्वल थापाले १६ केन्द्रीय सदस्यसहित अर्को दल गठनका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

तस्बिर : विशाल कार्की

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया