बँदेललाई थापेको करेन्टको पासोमा पाटेबाघ परेपछि...

 पुस २८, २०७५ शनिबार १८:३९:३३ | भावुक योगी
unn.prixa.net

बर्दिया – गेरुवा गाउँपालिका ४ मा बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटे बाघ मरेको अवस्थामा फेला छ । मरेको बाघ जमिनमूनि गाडिएको अवस्थामा फेला परेको हो ।

खेतमा बँदेललगायतका वन्यजन्तुका लागि थापेको करेन्टको पासोमा परेर मरेको पाटे बाघ गेरुवा गाउँपालिका ४ शान्तिपुर धोकिनिया गाउँ नजिक जमिनमूनि गाडिएको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।

बाघ तीनदेखि चार दिन अघि मरेको हुनसक्ने अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटेबाघ करेन्ट लागेर मारिएको र बाघ मरेपछि स्थानीयले जमिनमूनि गाडेको भन्ने गोप्य सूचनाका आधारमा उत्खनन गरी निकालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

बाघ कसरी मरेको भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट पछि जानकारी हुने भएकाले थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणका नेपाली सेना, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले करेन्ट लागेर जमिनमूनि गाडिएको बाघलाई उत्खनन गरी निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याएको छ । 

करेन्टको पासो लगाएर बाघ मार्ने र मरेको बाघ जमिनमूनि गाडेको सन्दर्भमा अनुसन्धानका लागि स्थानीय चार जनालाई निकुञ्ज प्रशासनले पक्राउ गरेको छ । बाघ कसरी मारिएको भन्नेबारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

चार पाँच वर्ष अघि बर्दियाको राजापुर र कर्मलामा स्थानीयले थापेको करेन्टको पासोमा परेर दुईवटा जंगली हात्ती  पनि मरेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया