झापाको भ्यू टावरबाट पनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ: कांग्रेस नेता रिजाल

 पुस २९, २०७५ आइतबार १५:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्यांक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दावी गर्नुभएको हो । प्रधानमन्त्रीले भनेजस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सूचकांकमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै उहाँले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाण्डौ खाल्डोबाट देखिएन होला, त्यसैले झापामा भ्यु टावर बनाउने भन्नुभएको छ ।  माफ गर्नुहोस् प्रधानामन्त्री ज्यू । खाँबो बांगो छ,तपाईंले देखेजस्तो देशको स्थिति छैन । झापाको भ्यु टावरमा चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ । क्षमा गर्नुहोस् प्रधानमन्त्री ज्यू ।’

उहाँले प्रधानमन्त्रीले राष्ट्रपतिको लागि सेवा र सुविधा बढाएर नयाँ दरबार श्रृजना गर्न खोजेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको निर्णयबाट १८ करोडको गाडीमा, डेढ अर्बको हेलिकोप्टरमा चढाउने र भोग विलासको जीवनमा पुरानो दरबार होइन नयाँ दरबार झन् बढी भोग र विलासको विम्ब बनाएर लैजाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन । गणतन्त्र बलियो हुँदैन ।  जनताको आर्थिक अवस्था जस्तो छ ,त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ । नेपाली जनता नयाँ दरबार बनाउन चाहँदैन ।’

 

उहाँले प्रधानमन्त्रीले भनेकाे भन्दा विपरित संबैधानिक संस्थालाई मातहतको विभागजस्तो बनाउने काम सरकारबाट भइरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बुद्धीजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्रहीको मानमर्दन गरेर, संवैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन । आयोगहरुलाई क्रियाशील नतुल्याउने अनि संघीयता अझ बलियो बनाएको छु भनेर झुटा बोलेर संघीयता बलियो हुँदैन, संस्था बलियो बनाउनुपर्छ ।‘

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया