‘उज्ज्वल थापाले गुरिल्ला शैलीमा पार्टी फुटाए’

 पुस २९, २०७५ आइतबार १५:१६:५ | डा. सूर्यराज आचार्य
unn.prixa.net

काठमाडौं - वैकल्पिक र सुसंस्कृत राजनीति गर्ने मुख्य अभिभारासहित राजनीतिमा होमिएको विवेकशील साझा पार्टी फुट्नु प्रिय कुरो होइन । हामी आश्चर्यमा छौँ । तर यसले हामीलाई विचलित भने बनाएको छैन । 

सुसंस्कृत वैकल्पिक राजनीतिको संवाहक बन्ने पार्टी निर्माणको चरणमा हामी थियौँ । त्यसमा यो सानो ठेस भने लागेको हो । तर ठेस लागेर लडियो भने पनि उठेर आफ्नो यात्रासम्म जानै पर्छ । त्यो आत्मविश्वास हामीसँग छ । 

वैकल्पिक राजनीतिमा पनि अहिले हामीले के बुझ्नु पर्ने अवस्था आयो भने नेतृत्वमा बसेका साथीहरुले सस्तो लोकप्रियतामा मात्रै जाने हो भने त्यो नेतृत्वले यस्तो चुनौतीलाई सामना गर्न सक्ने रहेनछ ।  

सस्तो लोकप्रियताकै लागि कसैलाई आरोप लगाइदिइहाल्ने । पार्टी केन्द्रीकृत भयो भन्ने, अपारदर्शी भयो भन्ने यो सबै लोकप्रियताका लागि लगाइएको आरोप मात्रै हो । हामीलाई सोधिएन, मनोमानी गर्यो भन्नु त राजनीतिक इमानको कुरा त भएन नि । 

यो डेढ वर्षको कुरा गर्ने हो भने उज्ज्वल थापाको क्रियाशीलता नरहेकै हो । उहाँ पछि पर्नुभएकै हो । यसले उहाँमा हीनताबोध ल्याएको पनि हुन सक्छ । 

पार्टी एकीकरण गर्ने बेलामा हामी सबै सही थियौँ । गल्ती कहाँ हो भने उहाँहरुका केही साथीहरुमा लोकप्रिय हुने रहर जाग्यो । खासगरी उज्ज्वल थापा जी र उहाँको समूहभित्र के अस्पष्ट देखियो भने वार्ताको माध्यमबाट निर्दिष्ट गरेको कुरामा पनि अहिले आउँदाखेरी त्यही अनुसार पार्टी चल्दा पनि विधि अनुसार चलेको नदेख्ने एउटा मनोरोग देखियो ।  

नयाँ पार्टी निर्माण गर्ने क्रममा सबैले उत्तिकै क्रियाशीलता देखाउनै पर्छ । सबैभन्दा बढी रवीन्द्र मिश्रजीको सकृयता थियो । मैले पनि उहाँ जत्तिको क्रियाशीलता देखाउन सकिनँ । 

स्वाभाविक रुपमा एकजना क्रियाशील हुँदा आफ्नो निष्कृयताले यो हावी भयो भन्ने खालको कुरा गर्नु भनेको त मनोरोग हो । यस्तो खालको मनोरोगको त उपचार हुँदैन । यो डेढ वर्षको कुरा गर्ने हो भने उज्ज्वल थापाको क्रियाशीलता नरहेकै हो । उहाँ पछि पर्नुभएकै हो । यसले उहाँमा हीनताबोध ल्याएको पनि हुन सक्छ । 

अप्राकृतिक फुट

पार्टीले अहिले ब्यहोरेको फुट अप्राकृतिक हो । किनभने सामान्यतयाः राजनीतिक पार्टीमा फुट आउन विभिन्न कारणहरु हुन्छन् । विचार, सिद्धान्त, पार्टीले लिएको मार्ग यस्ता कुरामा मतभेद हुँदा पार्टी विखण्डन हुनुपर्ने हो । तर सानोतिनो मसिनो कुरोमा पार्टी फुट्नु पर्ने त थिएन । 

पार्टीको दर्शन, मार्गदर्शक सिद्धान्त, पार्टी कसरी चलाउने, राज्यमा गयो भने पार्टीलाई कसरी अघि बढाउने भन्नेमा हामी एक थियौँ । पार्टीको केन्द्रीय समितिमा पनि यस्ता विषय एक ढिक्का भएरै अघि बढेका थियौँ । तर आज आइपुग्दा यस्तो सुन्नुपर्यो । पुराना पार्टीमा मन्त्री बन्नका लागि फुट हुन्थ्यो । विदेशी चलखेलले फुट हुन्थ्यो । सिद्धान्त र दृष्टिकोणले फुट हुन्थ्यो । 

विचार नमिलेको भए त ठीक थियो । फुट्नै थियो भन्ने लाग्थ्यो होला । हामीले भन्ने बाटो नै हुँदैन थियो होला । त्यसैले पार्टीले अहिले ब्यहोरेको फुट अप्राकृतिक हो ।

विचार नमिलेको भए त ठीक थियो । फुट्नै थियो भन्ने लाग्थ्यो होला । हामीले भन्ने बाटो नै हुँदैन थियो होला । तर हामी विचारको सन्दर्भमा त सानोभन्दा सानो, मसिनो कुरामा समेत एक थियौँ ।

हाम्रो पार्टीको दर्शन, हाम्रो अर्थनीति, हाम्रो सामाजिक न्याय के हो ? भन्नेमा एक थियौँ । त्यसमा मिलेन भनेको भए प्राकृतिक फुट हुन सक्थ्यो । हामी कार्यशैलीको कुरोमा भने थोरै अल्झियौं ।

हामीले बनाउन खोजेको वैकल्पिक राजनीतिक पार्टी भनेको त्यो चाहिँ एउटा केही राजनीतिक मुद्दाहरुको अभियानमा मात्रै सीमित हुने हो कि ? वा होइन त्यसलाई त एउटा जिम्मेवार सशक्त राजनीतिक दलको रुपमा राज्यमै गएर हस्तक्षेप गर्ने र देशको रुपान्तरणकै एउटा संवाहक राजनीतिक दल बन्ने भन्नेमा थोरै अस्पष्टता थियो साथीहरुमा । तर यसलाई पनि निरुपण गर्दै अगाडि बढ्ने तयारीमै हामी थियौं । 

अहिले अनपेक्षिक रुपमा पार्टी फुट हुन पुग्यो । त्यसैले मैले किन अप्राकृतिक भनेको भने पार्टी फुटमा जानुसम्मको तहमा त्यस्ता सैद्धान्तिक मतभेद नै देखिएको थिएन ।

साथीहरुले बुझ पचाइदिए 

एकीकरण गर्ने बेला हामी उत्साहित थियौं । त्यतिबेला ३२ बुँदे सम्झौता गर्दै अगाडि बढेका थियौं हामी । साँच्चिनै भन्नेहो भने त्यो ३२ बुँदे नै पार्टीको आन्तरिक विधान हो । त्याहाँ धेरै कुराहरु हामीले स्पष्ट लेखेका छौं । 

जब एकीकरण भएर निर्वाचनमा गयौं, निर्वाचनबाट पार्टी संचालनमा जानेवित्तिकै केन्द्रीय तहमा रहेकै कतिपय साथीहरु अन्यौलमा रहे । एकीकरणको वार्तामा बसेकैहरु पनि दस्तावेज भन्दा बाहिर गएर सदस्यहरुलाई तरंगित बनाउने काम गरे । 

स्पेशल चुनाव गरेर केन्द्रीय सदस्य चुन्ने भन्ने कुरा साथीहरुले गर्न लागे । तर त्यो त महाधिवेशनबाट गर्ने हो । हामीले सहमतिमा पनि त्यही कुरा उल्लेख गरेका छौं । 

यो पार्टीलाई खाली एउटा नागरिक अभियानमा, शहरमा मात्रै केन्द्रीत गर्ने कि देशैभर लिएर जाने भन्नेमा पनि साथीहरुमा थोरै फरक बुझाइ रह्यो ।

विधान र विधिमा हामी सत प्रतिशत सहि छौँ । अहिले पार्टी बन्दै गरेको छ । हाम्रो संगठन पनि पूर्ण भइसकेको छैन । वास्तविकता भन्ने हो भने हामीले एकीकरण भइसकेपछि एकिकरणको मर्म आम पार्टी कार्यकर्तासम्म पुर्याउन सकेनौं । 

हामी केन्द्रमै अल्झियौं । केन्द्रीय समितिका साथी तथा एकीकरणको वार्तामा बसेकै साथीहरुले बुझ पचाइदिए । पार्टीले गति लिन सकेन ।  

नागरिक अभियानमा सीमित गर्ने कि देशैभर पुग्ने ? 

यो पार्टीलाई खाली एउटा नागरिक अभियानमा, शहरमा मात्रै केन्द्रीत गर्ने कि देशैभर लिएर जाने भन्नेमा पनि साथीहरुमा थोरै फरक बुझाइ रह्यो ।

पछिल्लो समय देशका बिभिन्न ठाउँमा संगठन विस्तारले गति लियो । गति लिने काम बढिरहेकै छ । त्यसले केही साथीहरुलाई ओहो ! यो पार्टी त हामीले धान्ने भन्दा पनि ठूलो पो हुन लाग्यो कि ? अथवा हामीले त एउटा अभियानमुखी अर्थात सानो शहरमा मात्रै संगठन बनाउन लागेका थियौँ तर अब विस्तार भए पछि त केही पाे हुने हो कि भन्ने खालका आशंका उब्जिन थाल्यो ।  

अहिले हाम्रो पार्टीमा पुराना राजनीतिक दलका राम्रा भनिएका, पूर्व मन्त्री समेत रहेकाहरु अब त हामी यो पुरानो पार्टीबाट भएन तपाईहरुसँग मिलेर जान्छौं भन्नेसम्मका कुराहरु आएको थियो । तर हामीलाई थाहा छ राम्रैसँग बुझेका थियौं त्यस्ता नेताहरुलाई हामीले भित्र्याउँदै गर्दा उनीहरु जस्तै हामीलाई बनाउनेछन् भनेर हामी सजग थियौं ।   

हामी त युवा, प्रोफेसनल उद्यमी तथा वैकल्पिक राजनीतिको मार्गमा हिँड्नेमा ध्यान हो । तर साथीहरु कस्ता थिए भने हामीले युवालाई भूमिका दिएन भन्ने आरोप लगाइयो । त्यो अन्यायपूर्ण आक्षेप हो । 

काठमाडौं केन्द्रीत वा शहर केन्द्रीत, उहाँहरुको वरिपरिको युवा ‘ए’ क्लासको युवा, अनि त्याहाँबाट अरु युवा ‘बी’ क्लासको, अनि बझाङ, बाजुरा, ताप्लेजुङको युवा त ‘सी’ क्लासको युवा ।

थापाले युवाको क्लासिफिकेसन गरे

संयोजक उज्ज्वल थापा तथा उनको समूहले युवाको क्लासिफिकेसन गरिदिएका छन् । उहाँहरुको परिभाषाको युवा भनेको पूर्व विवेकशीलमा जोडिएका मात्रै हो भन्ने उनीहरुलाई छ ।  

जंगबहादुर राणाले राणाको वर्गीकरण गरेका थिए नि ‘ए’ ‘बी’ ‘सी’ भनेर । त्यस्तै उहाँहरुले युवाकाे वर्गीकरण गर्नुभएको छ । काठमाडौं केन्द्रीत वा शहर केन्द्रीत, उहाँहरुको वरिपरिको युवा ‘ए’ क्लासको युवा, अनि त्याहाँबाट अरु युवा ‘बी’ क्लासको, अनि बझाङ, बाजुरा, ताप्लेजुङको युवा त ‘सी’ क्लासको युवा । यसरी वर्गीकरण गरेका छन् उनीहरुले युवाको ।

हाम्रो पार्टी त हरेक युवाहरुको साझा मञ्च हुनु पर्यो भन्नेमा हामी छौं । त्यस अर्थमा हाम्रो सोच फरक थियो । अहिले फुट भयो भनेर हामीले कसैलाई आरोप लगाएका होइनौं ।

हामीले त उहाँहरुलाई शुभकामना दिइरहेका छौं । अब उहाँहरुले पनि पार्टी सञ्चालनमा ध्यान दिनुहोला । काठमाडौंको युवालाई मात्रै युवा नभन्नु होला भन्ने खालको सल्लाह सुझाव दिएकै छौं । 

गुरिल्ला शैलीमा गए 

हामी देशव्यापी रुपमा जाँदा हामीसँग रहेका ३८ जना केन्द्रीय सदस्यमध्ये कति जना देशभर हिँड्न सके ? त्यो त तथ्यले देखाउँछ नि । हामी केही जना मात्रै दिन रात नभनी अभियानमा लाग्यौँ । 

आजको मेरो उमेरले भोलि हाम्रो पार्टी सत्तामा जाँदासम्म म राजनीतिक रुपमा निष्कृय भइसक्छु । तर हामी त पार्टी निर्माणको चुनौतीपूर्ण अभियानमा होमिएका हौं । पछिल्लो पुस्ताले सहजता पाओस भनेर लागेका हौँ नि । 

तर गुरिल्ला शैलीमा हामीलाई कुनै थाहै नदिई यसरी जान मिल्छ र ? यो त सुसंस्कृत राजनीतिक शैली त भएन नि । 

जसरी आरोपहरु बाहिर लगाइएको छ, त्यसमा कुनै पनि सत्यता छैन । कस्तो पार्टी बनाउने भन्नेमा अलिकति मन फाट्यो । के कारणले हो केही जिम्मेवार नेतामै एकीकरणको मर्म पकड्ने कुरामा इमान्दारिता देखिएन । 

एकीकरणपछि विवेकशील नेपाली दल पनि हामीले बनाउन खोजेको होइन । हामीले साझा दल पनि बनाउन खोजेका होइनौं । हामीले त विवेकशील साझा पार्टी बनाउन खोजेका हौं नि । तर केही साथीहरुले त्यसप्रति खोइ नबुझेर हो कि के हो सोचमा नै फरक पन रह्यो । 

नेतृत्व कहिले पनि भगवान होइन । हामीलाई केही सोध्नु हुन्न भनेका छौं र हामीले ? 

उज्ज्वल थापाज्यूले यस्ता कुराहरु कम्तिमा हामीलाई भन्न सक्नुपथ्र्यो नि । कम्तिमा वैधानिक कमिटीमा आएर यो कुरा छलफल गरौं, तपाईहरु मान्नुहुन्न भने म बाहिर भन्छु भन्नुभएको भए हुन्नथ्यो र ? 

तर गुरिल्ला शैलीमा हामीलाई कुनै थाहै नदिई यसरी जान मिल्छ र ? यो त सुसंस्कृत राजनीतिक शैली त भएन नि । 

थापाले पार्टीको विधि मिचे

संयोजक उज्ज्वल थापाको १८ पृष्ठ लामो प्रतिवेदनमा पनि उहाँले कही कतै मैले यो मितिमा यो कुरा बैठकमा राखें, तर कुनै सुनुवाई भएन भन्ने छैन । खाली आरोप मात्रै लगाउने काम भएको छ ।  

उज्ज्वल थापाले १८ पृष्ठको प्रतिवेदन जसरी सार्वजनिक गर्नुभयो सबैभन्दा गम्भीर कुरा पार्टीको विधि मिचिएको त त्यहाँ हो । हामीलाई डर लागेको त के हो भने हामीले त्यसको प्रतिवाद गरेनौँ भने त्यही कुरो फेरि निम्तिन सक्छ । त्यसरी पार्टी चलाउन कठिन हुन्छ भन्नेमा हो ।  

कसैले पनि पार्टीको विधि विधान मिचेर एकलौटी समिक्षा गर्यो अनि प्रेसमा दियो गरेर कुनै सुसंस्कृत पार्टी बन्छ ? हाम्रो चिन्ता त्यो हो । तर त्यति हुँदाहुँदै पनि हामीले उहाँको बाहिर आएको कुरालाई समिक्षा गरौँ भनेर सोमबार बैठक आह्वान गरेकै थियौं । 

उज्ज्वल थापाले १८ पृष्ठको प्रतिवेदन जसरी सार्वजनिक गर्नुभयो सबैभन्दा गम्भीर कुरा पार्टीको विधि मिचिएको त त्यहाँ हो ।

पार्टीको समिक्षा गर्ने कुरा कार्यसूची मै थियो । उहाँले एक्लै जान्छु भनेपछि हामीले केही सल्लाह पनि दियौं । पार्टीको समिक्षा दुवै संयोजक मिलेर गर्ने हो । एक्लै गर्ने होइन । औपचारिक रुपमा आउने हो भनेर । तर उहाँ अटेरी गरेर जानु भयो ।

गए पनि ठिकै छ एउटा संयोजकले उहाँलाई लागेको कुरा गर्न पाइनु पर्छ भन्ने भयो । त्यो कुरा संयोजन समितिमा त आइहाल्छ । त्यहाँ छलफल गरौंला भन्ने हामीलाई थियो । 

तर उहाँले त त्यो समिक्षा केन्द्रीय समितिमा पनि इमेल मार्फत पठाउनुभयो । संगसँगै मिडियामा पनि लिक गरिदिनुभयो । यो त सरासर विधि विपरित हो नि ।उहाँले जुन छलफल गर्न पाइएन भन्ने आरोप लगाउनुभएको छ त्यो सरासर झुट हो । हामी कहिल्यै पनि विधि भन्दा बाहिर गएका छैनौं । 

उक्साहटको संकेत

कसैको उक्साहट थियो कि भन्नेमा मैले अहिले नै टिप्पणी गरिहालौं भन्नेमा छैन । तर कुनै एउटा मिडियामा उज्ज्वल थापाको अन्तर्वार्तामा उनले भनेका एउटा कुरोले भने आफूलाई झसंग बनाएको चै थियो । त्यो के थियो भने यो प्रतिवेदन मैले एक्लैले मात्रै लेखेको होइन । 

यसमा पार्टीका केन्द्रीय सदस्य र समाजका प्रवुद्ध व्यक्तिको सहयोगमा लेखेको हो भन्नुभएको छ । को हो त्यो प्रवुद्ध व्यक्ति ? कस–कसको सहयोगबाट लेखिएको हो ? त्यो कुरो ले चाहिँ आफूलाई झसंग बनाएकै थियो । तर त्यसको समिक्षा त हुँदै जाला ।

आफ्नै निर्णयबाट यस्तो भएको हो कि कतैबाट परिचालित भन्ने । तर उनको यो खालको कुरोले चै कतै त्यता पनि संकेत दिएको पो हो कि भन्ने चै लागेको छ । 

यो अवसर पनि हो

मैले उनीहरु गए ठिक भयो भन्न खोजेको पनि होइन । तर पार्टी निर्माणकै चरणमा मनमुटाव देखिँदा बरु बेग्लाबेग्लै हिँडेको राम्रो भन्ने चाहिँ हो ।

हाम्रो पार्टी निर्माणको चरणमै छ । तपाईले कुनै घरको जग लगाउँदै हुनुहुन्छ, इँटाहरु सामानहरु लगाउनु भयो, तर जग लगाउँदा अलिकति एउटा जग खनेको गल्ती भएछ र थोरै सार्नु पर्ने भयो ।

त्यतिकैमा एउटा जगको एउटा खाल्डो हामी खन्छौँ नि, हो एउटा खाल्डो खनेर त्यसलाई पुरेर अर्को खन्नुपर्दा घरै नबन्ने भन्ने हुँदैन । तर कतिखेर बर्बाद हुन्थ्यो भने जग कमजोर भएर हामीले तीन तले घर बनायौं । तर पछि जगै भत्काउनु पर्यो । जगै बिग्रिएको रैछ भन्या भए बरु जटिल कुरा हुन्थ्यो । 

मैले उनीहरु गए ठिक भयो भन्न खोजेको पनि होइन । तर पार्टी निर्माणकै चरणमा मनमुटाव देखिँदा बरु बेग्लाबेग्लै हिँडेको राम्रो भन्ने चाहिँ हो । यो फुटले वैकल्पिक पार्टी अहिले नबन्ने रैछ भनेर भनिहाल्नु पर्ने अवस्था देखिहालेको होइन । त्यो भन्नु भनेको अलि हतारो विश्लेषण मात्रै हुन्छ । 

हामी ढुक्क छौँ । आत्मविश्वासी पनि छौं । तर हामीलाई के सही लाग्छ भने ठिकै त भएको हो नै । तर यो पछिल्लो एक वर्षमा उहाँहरुलाई सँगै लिएर जाऔँ भन्दा हामी कस्ता कस्ता पीडा र सीमिततामा बाँधिएका थियौँ, यो अहिले नै भनि नहालौँ । 

फुट्नु नराम्रो हुँदाहुँदै पनि यसले हामीलाई एउटा अवसर भने दिएको छ । आन्तरिक व्यवस्थापनमा अब नअलमली वैकल्पिक पार्टी निर्माणमा गाउँ गाउँ, टोलटोलमा पुगेर यसलाई सशक्त बनाउने काममा हामी लाग्नु पर्छ ।  

भिडियाे हेर्नुहाेस् 

 

(विवेकशील साझा पार्टीका प्रवक्ता आचार्यसँग उज्यालाेका लागि नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत ६, २०८०

डा. सूर्यराज आचार्य

आचार्य विवेकशील साझा पार्टीका प्रवक्ता हुन् । 

तपाईको प्रतिक्रिया