बहुमतको आडमा चिकित्सा शिक्षा पारित गरे संसद बैठक अवरुद्ध पार्ने कांग्रेसको चेतावनी

 पुस २९, २०७५ आइतबार १७:२५:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ आफूहरुसँग सहमति गरेर मात्रै संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन सरकारलाई आग्रह गर्नु भएको हो । उहाँले बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक सत्तापक्षले पारित गराए आफ्नो पार्टी संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो । आइतबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पेश गरिएको छ ।

चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले इलाममा पुगेर आमरण अनसन सुरु गर्नु भएको छ । वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विधेयकमा परेकै हुनुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसको अडान छ ।

कांग्रेस नेता बडूले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले डाक्टर केसीसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकारलाई पुनः छलफलमा आउन सचेत गराउनुभयो ।

चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेपछि संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक अवरुद्ध पार्ने चेतावनी पनि दिनुभयो ।

कांग्रेस सांसदहरुले असहमति जनाएपछि वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतले पारित गरी संघीय संसदको प्रतिनिधिसभामा पेश गरिएको हो ।

आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिले पारित गरेपछि वरिष्ठ चिकित्सक केसीले इलाममा पुगेर १६ औं पटक आमरण अनसन सुरु गर्नु भएको छ । 

कांग्रेस नेता बडूले उहाँको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर चिकित्सा शिक्षा विधेयक सहमतिमै पारित गराउन सरकारलाई सचेत गराउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया