वाइडबडी प्रकरणमा तानिएका सबैलाई छानबिनको दायरामा ल्याइयाेस्: याेगेश भट्टराई

 पुस २९, २०७५ आइतबार १७:३१:५४ | उज्यालो सहकर्मी

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वाइडबडी विमान खरिद प्रकरणमा तानिएका सबैलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यस प्रकरणमा मुछिएको टिप्पणी सत्तारुढ दलकै सांसदहरुले गर्न थालेपछि सत्तारुढ नेकपाका नेता भट्टराईले सो प्रकरणमा तानिएका जोकोहीलाई पनि छानबिनको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले प्रकरणबारे यथार्थ छानबिन गर्न पूर्वाग्रह राखिरहनु नपर्ने पनि स्पष्ट पार्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी छानबिनको क्रममा दोषी देखिए कारबाही हुने नेता भट्टराईको भनाइ छ । वाइडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको पनि संलग्नता रहेको उल्लेख गर्दै संघीय संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि सरकारलाई निर्देशन दिएको थियो ।

नेता भट्टराईले त्यसै विषयमा यथार्थ छानबिन गर्न प्रमुख प्रतिपक्ष दलका नेता देउवाको आग्रहमा सरकारले छानबिन आयोग नै गठन गरेको पनि स्पष्ट पार्नुभयो ।

आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नेपालमा अन्तराष्ट्रिय लगानी आउन नदिने षडयन्त्र अन्तरगत वाइडबडी विमान खरिद प्रकरणलाई उचालेको हुनसक्ने आशंका गर्दै सचेत रहन पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

नेता भट्टराईले वाइडबडी विमान खरिद प्रकरणको विषयलाई लिएर आफ्नो पार्टीले कसैप्रति पूर्वाग्रह नराख्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया