रियल मड्रिड ला लिगाको चाैथाे स्थानमा

 पुस ३०, २०७५ सोमबार ७:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल बेटिसलाई हराउँदै रियल मड्रिड ला लिगाको चौथो स्थानमा उक्लिएको छ । 

ड्यानी सेबालोसले खेलको अन्त्यतिर उत्कृष्ट फ्रिकिक गोल गरेपछि रियल बेटिसलाई दुई एक गोलले हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको हो ।

रियलले १३ औं मिनेटमै लुका मोड्रिचको गोलमार्फत अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भार)ले रेफ्रिको अफसाइडको निर्णय उल्टाएर बेटिसका सेगियो कानालेसको गोललाई मान्यता दिएसँगै ६७ औं मिनेटमा खेल बराबरीमा आएको थियो ।

८८ औं मिनेटमा रियलले फ्रिकिक पायो । ७४ औं मिनेटमा रिगुइलनलाई प्रतिस्थापन गरी मैदान प्रवेश गरेका स्पेनिस मिडफिल्डर काबालोसले फ्रिकिकमार्फत आफ्नो पूर्वक्लवबिरुद्ध गोल गरी टिमलाई स्पष्ट तीन अंक दिलाए ।

यो जितले रियल ला लिगाको चौथो स्थानमा उक्लिएको छ । यद्यपी शीर्ष स्थानको बार्सिलोना भन्दा अझै १० अंकले पछडि छ ।

यसअघि भएको खेलमा लियोनल मेस्सीले ला लिगा इतिहासमै ४०० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान राख्दा बार्सिलोनाले लिगमा लगातार सातौं जित हासिल गरेको थियो र अंकतालिकामा ५ अंकको स्पष्ट अग्रता कायमै राखेको थियो ।

रियलको १९ खेलबाट ३३ अंक छ । समान अंक भए पनि सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा र एक अंक कम रहेको अलाभेस पाँचौं स्थानमा छन् । दोस्रो स्थानको एट्लेटिकोको ३८ र शीर्ष टोली बार्सिलोनाको ४३ अंक पुगेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया