चक्रपथ सडकखण्ड निर्माणको काम चैत अन्तिमसम्ममा सकिने

 पुस ३०, २०७५ सोमबार ११:४१:५१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडण्डाै– अहिले कलंकीमा पहिलेकोजस्तो जाम हुँदैन । अण्डरपास सञ्चालनमा आएसँगै कलंकीको जाम मात्र होइन, धुलोधुवाँ पनि कम भएको छ । तर कलंकी – कोटेश्वर सडकखण्डका कतिपय ठाउँमा भने काम बाँकी नै छ ।

चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथको कोटेश्वर–कलंकी खण्डको काम डिसेम्बर अन्तिमसम्म सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको थियो । चिनिया पक्षले काम सकेर आफ्ना कामदारहरु घर पठाइसक्यो, तर नेपाली पक्षले गर्ने काम भने अझै बाँकी छ । 

चिनियाँ पक्षले काम सकिसक्दा पनि नेपाली पक्षले जिम्मा लिएको केही ठाउँमा काम अझै सम्पन्न हुन सकेको छैन । सडकखण्डको १० किलोमिटरमध्ये बल्खुदेखि खसीबजार खण्डको करिब एक किलोमिटर भाग निर्माणधीन अवस्थामा छ । 

सडक विस्तारको क्रममा लागत बढ्न गएपछि केही भाग निर्माणको जिम्मा नेपाल सरकारले लिएको हो । 

‘कोटेश्वरदेखि कलंकीसम्म (अण्डरपाससहित) पुरै सडकखण्ड पाँच अर्ब रुपैयाँ अनुदानमा निर्माण गर्ने सम्झौता भएको थियो । तर अण्डरपास निर्माणमा अनुमान गरिएभन्दा बढी लागत खर्च भयो,’ सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखाका प्रमुख केशव शर्माले भन्नुभयो, ‘यो बढेको खर्च नेपाल सरकारले नै बेहोर्नुपर्ने हुँदा सडकको केही भाग हामीले नै निर्माण गर्नुपर्यो, त्यसको लागि ३८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।’                         

यस अनसार बल्खुदेखि खसी बजारसम्मको एक किलोमिटर सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्दैछ । यससँगै अन्य स–साना बाटाहरुलाई यो सडकसँग  जोड्न सर्भिस ट्रयाक निर्माण र सडकको छेउछाउमा रेलिङ्ग लगाउने जिम्मा पनि नेपाल सरकारले लिएको छ । 

अहिले सडकको छेउछाउमा रेलिङ्ग लगाउने देखि फुटपाथ बनाउने काम भइरहेको छ । बल्खु चोकबाट केही पर भत्किएको सडकको भित्तामा पर्खाल लगाउने काम चलिरहेको छ । एक किलोमिटरको यो खण्डमा आठ लेनको सडक निर्माणकार्य अझै सकिएको छैन । जग्गामा विवाद आएका कारण र बल्खु पुल विवादको विषयलाई लिएर काम रोकिंदा निर्माणकार्य लम्बिएको शर्मा बताउनुहुन्छ ।

‘हामीले गर्नुपर्ने काममध्ये ८५ प्रतिशत काम सकिसकेको छ, चैत अन्तिमसम्ममा सबै काम सकिनेछ,’ प्रमुख शर्माले बताउनुभयो ।

हस्तान्तरणमा ढिलाई 

आठ लेनसहित १० किलोमिटरको कलंकी –कोटेश्वर सडक खण्ड चीन सरकारको अनुदानमा निर्माण भएको हो । 

सन् २०१२ मा निर्माण गर्ने भनेर प्रक्रिया अगाडि बढेको भए पनि जग्गा तथा मुआब्जा विवादका कारण सन् २०१३ जुनदेखि मात्र काम सुरु भएको थियो । 

४० महिनाभित्र काम सक्ने भन्ने सम्झौता अनुरुप सन् २०१६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने थियो । तर बीचमा भूकम्प र नाकाबन्दीका कारण काम सम्पन्न नुहँदा दुई वर्ष म्याद थप गरियो । थपिएको म्याद अनुसार चिनियाँ पक्षले आफ्नो जिम्माको निर्माण कार्य सकेको छ । डिसेम्बर १५ भित्र नेपाल सरकारलाई हस्तान्तरण गरिसक्ने भन्ने थियो, तर महिना दिन भैसक्दा समेत हस्तान्तरण भने गरेको छैन । 

‘नयाँ चिनियाँ राजदूत आएपछि हस्तान्तरण गर्ने भनिएको थियो, तर भएको छैन’ सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखा प्रमुख केशव शर्माले भन्नुभयो, ‘यो उनीहरुले निर्णय गर्ने कुरा हो, केही दिन भयो नयाँ राजदुत नियुक्त हुनुभएको छ, अब चाँडै गर्छन् होला ।’

चक्रपथ विस्तारको बाँकी काम कहाँ पुग्यो ?

चिनियाँ सरकारले २५ अर्ब रुपैयाँको अनुदानमा २७ किलोमिटर लम्बाईको चक्रपथ विस्तार गर्न लागेको ६ वर्ष भयो । कोटेश्वर–कलंकी, कलंकी–महाराजञ्ज र महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा निर्माण गर्ने भनिएको थियो । त्यसमध्ये कोटेश्वर–कलंकी खण्डको काम लगभग सम्पन्न भइसकेको छ । तर कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको  भने कुनै तयारी नै भएको छैन ।

सडक विभाग अन्तर्गत वैदेशिक समन्वय महाशाखाले त्यसको डिजाइनको लागि चिनियाँ पक्षसँग आग्रह गरे पनि उनीहरुबाट अहिले कुनै पनि प्रतिक्रिया नआएको शाखा प्रमुख शर्माले बताउनुभयो । 

‘उनीहरु आफ्नो तर्फबाट काम गरी नै रहेका छन्,’ शर्माले भन्नुभयो, ‘सडक विस्तारको लागि चिनियाँ पक्ष सकारात्मक देखिन्छ । यो सडकखण्ड हस्तान्तरणसँगै अर्को खण्ड निर्माणको लागि डीपीआरको तयारी हुनेछ ।’ 
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया