पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोबार रद्द

 पुस ३०, २०७५ सोमबार १३:१३:९ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोबार रद्द गरेको छ । 

बजार खुल्नेबित्तिकै त्यो कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोबार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोबार भएका कारण कारोबार रद्द गर्नुपरेको जानकारी दिनुभयो । 

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुरु भएको थियो । स्टकले सुरुवाति चरणमा प्रतिकित्ता  २२४ रुपैयाँसम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्ने बित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढे पनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन । 

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोवार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । 

बजार खुल्दा त्यो कम्पनीको शेयर ११२ रुपैयाँले वृद्धि भई ३३६ रुपैयाँ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोबार रद्द भएको जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया