कर्णालीका केही कार्यालय खुला, केही बन्द

 माघ १, २०७५ मंगलबार १३:१८:३६ | अमर सुनार
unn.prixa.net

दैलेख – कर्णाली प्रदेश सरकारले मंगलबार माघे सङ्क्रान्तिको बिदा दिए पनि केन्द्र सरकार अन्तर्गतका सरकारी कार्यालयहरु खुलेका छन् । प्रदेश सरकार अन्तर्गत नभएको कारण संघीय सरकार अन्तर्गतका सबै कार्यालय खुला गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बताउनुभयो ।

सार्वजनिक बिदाको दुविधाबारे प्रश्नमा ‘हामीले निर्णय गर्दा पनि सबै कार्यालय बिदा हुने लेख्न छुटेछ’ कर्णाली प्रदेश सरकारका प्रवक्ता कृषि तथा भूमि व्यवस्था मन्त्री विमला केसीले प्रतिक्रिया दिनुभयो । उहाँले बिदा दिन पाउने अधिकार अनुसार बिदा दिइएको बताउनुभयो ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पुस २५ गते सुर्खेतमा नेपाल मगर संघले आयोजना गरेको मेला उद्घाटन कार्यक्रममा माघे सङ्क्रान्तिको बिदा दिने घोषणा गरे पनि पुस २८ गतेको मन्त्री परिषद् बैठकले कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने औपचारिक निर्णय भएको थियो । 

प्रदेश सरकारको निर्णय सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाएका कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहहरु, कृषि, स्वास्थ्य, वन, पशु सेवा, घरेलु कार्यालय तथा विद्यालयहरु बिदा भएका छन् । केन्द्र सरकार अन्तर्गतका अदालत, प्रशासन, प्रहरी, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय, हुलाक, मालपोत, नापी, विद्युत कार्यालयचाहिँ १० वटै जिल्लामा खुला छन् । 

कोही कार्यालय खुल्ने र कोही नखुल्ने हुँदा दुई–तीन कार्यालयसँग सरोकार राख्ने सेवाग्राहीलाई अन्यौलमा परेका छन् ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया