वाइडबडी जहाज खरिद प्रकरणमा कांग्रेस सभापति दोषी ठहरिए कारबाही हुनुपर्छ : डा. महत

 माघ १, २०७५ मंगलबार १५:७:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नेपाली कांग्रेसका नेता डा.रामशरण महतले वाइडबडी जहाज खरिदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोषी भएमा पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेता महतले त्यो अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाहीको भागिदार हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन रुकुम पश्चिमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले कांग्रेस सभापतिमाथि आरोप लागेको र छानबिनपछि वास्तविकताबाहिर आउने बताउनुभयो । 

‘आरोप सत्य हुन्छ भन्ने छैन, दोषी ठहरिए उहाँमाथि पनि कारबाही हुन्छ’, डा. महतले भन्नुभयो, ‘संसदको सार्वजनिक लेखा समितिअन्र्तगतको छानबिन उपसमितिले छानबिन गरी दोषी ठहर्‍याइसकेपछि सरकारले पुनः अर्को छानबिन समिति गठन गरेर दोषी उम्काउन खोजेको छ । यसले संसदीय सर्वोच्चता र लोकतन्त्रकै खिल्ली उडाएको छ । अनियमिततामा संलग्नलाई कारबाही हुनुपर्छ ।’

उहाँले देशमा अराजकता र भष्टाचार मौलाउँदै गएको बताउँदै सरकारले विकास र सुशासन दिन नसकेको आरोप लगाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली सानातिना कुरामा अल्झिएको बताउँदै उहाँले प्रधानमन्त्री कार्यालयलाई विभिन्न विभागहरुको अखडा बनाउँदै गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यो राम्रो कुरा होइन, प्रधानमन्त्रीले समन्वय गर्ने र निर्देशन दिने हो तर उनी हरेक कुरामा आफै हस्तक्षेप गदैछन् । यसले लोकतन्त्रलाई सुदृढ गदैन ।’

कतिपय स्थानीय सरकारहरुले मनोमानी कर उठाइरहेको, बजेट खर्च मनोमानी रुपमा गरिरहेको, भ्रष्टाचार बढिरहेको भए पनि संघीय सरकारले नियन्त्रण गर्न नसकेको नेता महतले बताउनुभयो । देशमा अराजकता बढे पनि सरकारले सुशासन कायम गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

केही दिनअघि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनमा प्रस्तुत गरेको आर्थिक सूचकाङ्क र नेपाल राष्ट्र बैंकले निकालेको आर्थिक प्रगतिको सूचकाङ्कमा मेल नखाएको भन्दै झुटको खेती नगर्न उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया