वैकल्पिक राजनीति गर्न पार्टी खोलेका हाैँ, अराजनीति गर्न हाेइन : विवेकशील साझा

 माघ १, २०७५ मंगलबार १५:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - विवेकशील साझा पार्टीले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको छ । 

पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.सूर्यराज आचार्यले थापा समूहले हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन गरेको बताउनुभयो । 

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि मात्रै आफूहरुले पार्टी विभाजन भएको जानकारी पाउनु निकै दुखद रहेको उहाँले बताउनुभयो ।   
१६-१७ महिनासम्म सँगै यात्रा गर्दा पनि आफूहरु सबैसँग घुलनशील हुन नसकेको रहेछ भनेर यस घटनाले देखाएको भन्दै आचार्यले यसप्रति आफूहरुको पनि कमजोरी रहेको स्वीकार गर्नुभयो । 

पार्टी फुटले आफूहरुलाई धेरै पाठ सिकाएको भन्दै उहाँले अब कुनै पनि केन्द्रीय समिति विस्तार गर्दा वा कुनै समूहसँग एकता गर्दा विचार, राजनीति, राजनीतिक चरित्र लगायतका बारेमा गम्भीर भएर अगाडि बढ्नु पर्ने रहेछ भन्ने बुझाएको बताउनुभयो । 

‘पार्टीमा विश्वासको संकटको संकेत पहिलेदेखि नै थियो,’ उहाँले भन्नुभयो, ‘हामीले व्यवस्थापकीय रुपमा सम्बोधन गर्ने प्रयास पनि गर्यौ तर राजनीतिक रुपमा सम्बोधन गर्न नसक्दा यो नियति भोग्नुपर्यो ।’  

पार्टी फुटले आफूहरुलाई हतास नभई अझ बढी दृढ बनाएको भन्दै उहाँले यो यात्रालाई दोब्बर उर्जा र आकांक्षाका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । 
‘यो सेलेब्रेसन गर्ने समय होइन । यो अप्रिय घटना नै हो ,’ उहाँले भन्नुभयो, ‘पीडा त पक्कै हुन्छ । तर हतास छैनौँ । बरु दृढ बनेका छौँ । पाठ सिकेर अघि बढ्छौँ ।’ 

आफूहरुले कहिल्यै पनि बहुमत र अल्पमतको कुरा नगरेको भन्दै उहाँले अल्पमत र बहुमतको खेल नसिक्ने र सिक्न पनि नखोज्ने बताउनुभयो ।   
आफूहरुले वैकल्पिक अराजनीति गर्न पार्टी खोलेको नभई वैकल्पिक बन्न नै पार्टी खोलेको बताउनुभयो ।  

आफूहरुले राजनीतिक रुपमा दुष्ट्याइँ गर्न नसकेकाले उहाँहरुलाई कारबाही नगरेको पनि प्रवक्ता आचार्यले प्रष्ट पार्नुभयो । ‘बहुमत र अल्पमतको खेल खेल्नु थियो भने एक साता अघि नै एक संयोजक रहेका उज्ज्वल थापालाई हामीले कारबाही गर्‍थ्याैँ होला, उहाँले पार्टीको विधि मिच्नुभएको थियो’, आचार्यले भन्नुभयो ।

डा.गोविन्द केसीले उठाएका मुद्धा आम नेपाली नागरिकको हितमा रहेकाले उहाँको मुद्धा आफ्नो पार्टीको पनि मुद्धा रहेको बताउनुभयो । 

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीसँग एक हुने भन्ने टुङोमा आफूहरु अहिले नै नपुगेको उहाँले बताउनुभयो । तर वैकल्पिक राजनीतिक अभ्यास गर्ने जो कसैसँग एकताका लागि ढोका खुल्लै रहेको पनि उहाँले बताउनुभयो । 

‘हामी वैकल्पिक राजनीतिको संवाहक बन्ने सवालमा कोही कसैसँग पनि एकता गर्न तयार छाैँ, तर पुरानो पार्टीसँग मिसिएर वा पुरानो सोच भएकाहरुसँग मिसिएर उनीहरु जस्तै बन्न होइन ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया