युरोपेली युनियनबाट बाहिरिने योजनामा बेलायती प्रधानमन्त्री मे संसदमा पराजित

 माघ २, २०७५ बुधबार ९:२१:५ | एजेन्सी
unn.prixa.net

ब्रेक्जिट डिल अर्थात युरोपेली युनियन(ईयू)बाट छुट्टिने बेलायती प्रधानमन्त्री टरिजा मेको योजना संसदमा बहुमतबाट खारेज भएको छ । टरिजा मेको योजनाको विपक्षमा ४३२ जना सांसदले मत दिएका थिए भने उनको समर्थनमा २०२ जना सांसद थिए । 

प्रधानमन्त्री टरिजा मेकै दल कन्जर्भेटिभ पार्टीका ११८ जना सांसदले समते विपक्षी पार्टीसँग मिलेर युरोपेली युनियनबाट अलग्गिने योजनाको विपक्षमा मत दिएका थिए । बेलायती संसदीय इतिहासमा कुनै पनि बिल वा मस्यौदामाथि बहालवाला सरकारको यो ठूलो हार हो । 

प्रधानमन्त्री टरिजा मेले आफ्नो योजनामा ऐतिहासिक हार व्यहोरेपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ । 

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा प्रधानमन्त्रीको ब्रेक्जिट डिल खारेज भएपछि सरकारले सदनको विश्वास गुमाएको बताएका छन् । 

बुधबार संसदमा सरकारविरुद्धको अविश्वास प्रस्तावका बारेमा छलफल हुने उनले बताए । तर कैयौँ सांसद तथा टरिजा मेको सरकारको समर्थन गर्ने दलहरुले भने आफूहरुले ब्रेक्जिट योजनाको विरोध गरे पनि प्रधानमन्त्रीको भने विरोध नगरेको बताएका छन् । 

प्रधानमन्त्री मेले भने आफूले संसदमा विश्वासको मत प्राप्त गरे अर्को मस्यौदा फेरि एकपल्ट संसदमा पेस गर्ने बताएकी छिन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया