अमेरिकी राष्ट्रपतिका लागि दाबेदारी दिने पहिलो हिन्दू सांसद तुलसी गबार्ड को हुन् ?

 माघ २, २०७५ बुधबार १६:२८:३८ | एजेन्सी
unn.prixa.net

अमेरिका हवाई प्रान्तकी सांसद तुलसी गबार्ड सन् २०२० को राष्ट्रपति चुनावको लागि दावेदारी पेस गर्दैछिन् ।

३७ वर्षीया तुलसी गबार्ड अमेरिकाको डेमोक्रेटिक पार्टीकी त्यस्ती नेता हुन् जसले २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको सट्टा बर्नी स्याण्डर्सलाई समर्थन गरेकी थिइन् ।

उनी सन् २०१६ मा डेमोक्रेटिक नेसनल कमिटी (डीएनसी)की उपाध्यक्ष थिइन् तर स्याण्डर्सलाई समर्थन गरेपछि उनले यो पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआ भन्ने ठाउँमा जन्मिएकी तुलसी गबार्ड अमेरिकाको इतिहासमै सबैभन्दा कम उमेरमा जनप्रतिनिधि बन्ने नेता हुन् । त्यतिबेला उनी मात्र २१ वर्षकी थिइन् ।

भारतसँग उनको सम्बन्ध

स्टेट सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा हावा तथा सौर्य उर्जाको लागि आवश्यक उत्पादनको ट्याक्समा छुट दिने नियमको समर्थन गरेकी थिइन् ।

त्यसपछि उनले हवाई सेना ‘नेसनल गार्ड सर्भिस’मा संलग्न भएर एक वर्षको लागि इराक युद्धमा सेवा गरिन् ।

यसका साथसाथै उनले सन् २०११ मा इण्डोनेसियाली सेनासँग शान्ति स्थापनाको तालिममा संलग्न भइन् । सन् २०१५ मा अमेरिकी सेनामा मेजरको पद हासिल गर्ने तुलसी अहिले पनि सेनासँग जोडिएकी छिन् ।

अमेरिकाको आउँदो राष्ट्रपतीय चुनावमा आफूले उम्मेद्वारीको लागि दाबेदारी दिने भन्दै तुलसी गबार्डले ट्विटरमा आफ्नो विचार राखिन् । त्यसपछि उनको नाम भारतमा ट्विटर ट्रेण्डमा नै रह्यो ।

यदि तुलसीको भारतसँगको सम्बन्धको बारेमा कुरा गर्ने हो भने उनको भारतसँग कुनै पनि सम्बन्ध छैन । उनका बुवाआमा पनि भारतीय मूलका पनि होइनन् ।

तर अमेरिकामा रहेको भारतीय मूलका हिन्दूहरुको ठूलो सङ्ख्याले उनको समर्थन गर्दै आएका छन् । अमेरिकाको संसदमा पहिलो हिन्दू भएको रेकर्ड पनि उनकै नाममा छ ।

गएको वर्ष अमेरिकाको एक न्यूज च्यानलको कार्यक्रमा हिन्दूको विरोधमा गरिएको टिप्पणीमा उनले खुलेर विरोध गरेकी थिइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्ध

तुलसी गबार्र्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी खास समर्थक भएको मानिन्छ । सन् २०१४ मा मोदी प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै तुलसी मोदीको समर्थन गर्दै आएकी छिन् ।

सन् २००२ को गुजरात दङ्गाको कारण गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी सरकारले अमेरिका आउन प्रतिबन्ध लगाएको थियो । त्यसरी प्रतिबन्ध लगाउँदा अमेरिकी सरकारको आलोचना गर्ने नेताहरुमा तुलसी पनि थिइन् ।

हिन्दू धर्म मान्ने तुलसीले भारत यात्राका क्रममा नरेन्द्र मोदीसँग भेटघाट गरेकी थिइन् । यस्तै प्रधानमन्त्री मोदीले पनि अमेरिका गएका बेला तुलसीसँग भेट गर्नैका लागि भनेर समय मिलाएका थिए ।

केही वर्ष पहिले हिन्दू रीतिरिवाजमा विवाह गरेकी तुलसीले योग दिवसलाई अन्तर्राष्टिय रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा साथ दिएकी थिइन् ।

कस्तो छ गबार्डको राजनीति ?

उनको राजनीतिक छवि एक राजनेताको जस्तो छ जसलाई रिपब्लिकन पार्टीकै मान्छेले पनि मन पराउँछन् । यस्तो अवस्थामा डेमोक्रेटिक पार्टीभित्र त उनको लोकप्रियता हुने नै भयो ।  

सन् २०१६ मा बर्नी स्याण्डर्सको समर्थन गर्दै उनले डीएनसीको उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि डेमोक्रेटिक पार्टीले हिलारी क्लिन्टलनलाई चुनावको लागि आफ्नो उम्मेदवार बनाएको थियो ।

– बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत २१, २०८०

1 Comments

  • Dinesh

    Jan. 16, 2019, 11:38 p.m.

    पत्रकार सोल्टी केटीलाई नेत्री भन्छन होला /

  •  0 Reply

तपाईको प्रतिक्रिया