उपचाररत बिरामीको मृत्यु भएपछि सप्तरीको अञ्चल अस्पतालमा तनाव

 माघ २, २०७५ बुधबार १८:५९:९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले प्रदर्शन गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारीका सहदेव सदाको उपचारका क्रममा मृत्यु भएको थियो । चिसो लागेकाले अस्पताल ल्याइए पनि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै आफन्तले प्रदर्शन जारी राखेका छन् ।

उहाँको सलाइन चढाएपछि मृत्यु भएको आफन्तको आरोप छ । अस्पतालबाहिर जम्मा भएका मृतकका आफन्तले नाराबाजी गर्दै स्वास्थ्य मन्त्री उपेन्द्र यादवको राजीनामा समेत माग गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालको कमाण्डमा अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मृतकका परिवार अस्पताल बाहिर रुवाबासी गरिरहेका देखिन्थे । 

तनाव साम्य पार्न मृतकका आफन्त, प्रहरी र अस्पताल व्यवस्थापनबीच वार्ता चलिरहेको छ । अस्पतालका निमित्त मेसु डाक्टर रञ्जितकुमार झाले भने बिरामीको मृत्यु स्वाभाविक भएको बताउनुभयो ।

हाइपोथर्मिया (शरीर चिस्सिएको) अवस्थामा सदालाई अस्पताल भर्ना गरिएको र उपचारका सबै प्रक्रया सुरु भइसकेपछि मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अस्पताललाई बदनाम गर्न अनावश्यक रुपमा आन्दोलनको स्वरुप तयार गरिएको उहाँको भनाई छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया