बाघको बच्चाजस्तै संघीयता पनि हुर्केपछि बलियो बन्दै जान्छ : प्रधानमन्त्री ओली

 माघ २, २०७५ बुधबार १९:१५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च प्रणालीमा सुधार नआएमा कडा आपत्ति जनाउनु भएको छ ।

राष्ट्रिय विकासमा देखिएको समस्या समाधानका लागि भन्दै बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले कडा असन्तुष्टि जनाउनु भएको हो । उहाँले खर्च प्रणालीमा सुधार गर्न भन्दै जेठ १५ गते नै बजेट ल्याएको तर दोस्रो त्रैमासिकसम्म आइपुग्दा पनि कुनै सुधार हुन नसकेको भन्दै दुख व्यक्त गर्नुभयो ।

उहाँले विकास निर्माण अवरोध गर्ने तत्वका बारेमा जानकारी गराई छलफलमा आउन पनि सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवलाई निर्देशन दिनुभयो । आयोजना र विकासको कामलाई रोक्न नहुने भन्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा कुनै कानुनी जटिलता भए छलफल गरेर निकास निकाल्ने पनि दावी गर्नुभयो ।

यस्तै उहाँले सानातिना कुरा निकालेर सरकारमाथि आक्रमण भइरहेकाले सचेत हुन पनि निर्देशन दिनु भएको छ । देशमा समृद्धि र विकास ल्याउनु अपरिहार्य भएकाले झिनामसिना कुरामा नअल्झिन पनि उहाँको निर्देशन छ ।

प्रधानमन्त्री ओली संघीयता बलियो नभएको भन्दै भइरहेका टिप्पणीप्रति व्यंग्य गर्दै भन्नुभयोः ‘बाघले अर्ना पनि मार्छ तर त्यो बच्चामा लुलो हुन्छ । बाघको बच्चा लुलो भयो भन्नु भन्दा पनि बाघ त बाघ नै हो, हुर्के पछि शक्तिवान हुन्छ । संघीयता पनि अहिले हुर्कदै छ ।  विस्तारै बलियो बन्दै जानेछ ।’ 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया