बिरालो मार्ने चालकलाई दुई वर्षको जेल सजाय

 माघ ३, २०७५ बिहिबार २०:३५:११ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मलेसियामा एक ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।

गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनावर अधिकारवादी कानुन व्यवसायी ए मोहनराजले चालकले लापरवाही तरिकाले बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गर्नुभएको थियो ।

क्वालालम्पुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गएको सेम्टेम्बरमा घटना भएको बेर्नामा नामक समाचार संस्थाले जनाएको छ । बिरालोको हत्यासम्बन्धी दृश्य सीसीटीभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एकजना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । दोषी ठहर गरिएका ४२ वर्षीय चालकले आफूले जानीजानी बिरालोको हत्या नगरेको दाबी गर्दै आएका छन् । तर उनको आग्रह र दाबीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको हाे ।

यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानुनी व्यवस्था भए पनि न्यायधीशहरूले दुई वर्ष तोकेका हुन् । अदालतको आदेश आउनुअघि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महसुस भएको छ, सबै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु कि आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया