ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

 माघ ४, २०७५ शुक्रबार १३:१५:५१ | भावुक योगी
unn.prixa.net

बर्दिया - लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन) तस्करी गर्ने एक जना भारतीय नागरिकलाई बर्दिया प्रहरीले राजापुर क्षेत्रबाट पक्राउ गरेको छ । 

नेपाल भारत सीमाना निसानगाढा नजिक पर्ने राजापुर नगरपालिका–४, शक्तिपुल खोला किनारबाट भारतको उत्तरप्रदेश लखिमपुर जिल्ला, खिरी इन्द्रनगरका २७ वर्षीय हरजित सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

सिंहले बर्दियाको राजापुर क्षेत्रमा ब्राउनसुगर बिक्री वितरण गर्ने गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा खोजी गर्ने क्रममा १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरी उपरिक्षक मैनालीले बताउनुभयो । 

प्रहरी उपरीक्षक मैनालीका अनुसार ब्राउनसुगर लिएर शक्तिपुल खोलाको बगरमा बिक्री वितरणका लागि बसिरहेको अवस्थामा सिंको साथबाट झण्डै ७० हजार मूल्य बराबरको १० ग्राम लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको उहाँले बताउनुभयो । 

पक्राउ परेका सिंहले केही वर्ष अघिदेखि नेपालको राजापुर क्षेत्रमा आएर लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न रहेको बुझिएकोले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय लागुऔषध दुर्व्यसनीविरुद्ध बर्दिया प्रहरीले विशेष अभियान चलाएको छ । पछिल्लो ६ महिनायता जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आईरहेको छ । 

लागुऔषध नियन्त्रणका लागि बर्दियामा विशेष निगरानी सहित अभियान थालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया