संसदमा पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर: सरकार कुनै प्रकारको अनियमितताप्रति सहिष्णु नहुने प्रमकाे भनाइ

 माघ ४, २०७५ शुक्रबार १३:३९:४२ | रासस

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक सुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णु हुँदैन भन्नुभयो । 

पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ माग गर्नुभएको थियो । 

उत्तरमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशलाई घाटा र नोक्सान पार्ने काममा कुनै सहिष्णुता हुँदैन, यस्ता कार्य नियन्त्रण गर्न कानून कार्यान्वयनमा सरकार प्रतिबद्ध छ । समाचारबाट त्यसबारेमा जानकारी पाएका छौँ ।यस सम्बन्धमा आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाइ सरकार कानूनबमोजिम अघि बढ्नेछ ,’

कानुनविपरीत लगानी गरेको सम्बन्धमा सरकार सजग रहेको र यसमा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

दोस्रो प्रश्नकर्ताका रुपमा सांसद डा मीनेन्द्र रिजालले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो भनी प्रश्न गर्नुभएको थियो । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूले यससम्बन्धी काङ्ग्रेसका नेतासँग छलफल भइरहेको बताउँदै सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सचेत रहेको बताउनुभयो । 

साथै गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै नचल्ने देखिएकाले त्यसलाई राम्रो चल्ने गरी कसरी अघि बढाउने सम्बन्धमा आफूले छलफल अघि बढाएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया