बुवाको सांगीतिक यात्रा पछ्याउँदै गुञ्जन

 माघ ४, २०७५ शुक्रबार १५:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबलाबादक तुंगनाथ उपाध्यायकी कान्छी छोरी गुञ्जन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउँदै अघि बढिरहेकी छिन् ।

हाल परिवारसँग  अमेरिकामा बस्दै आएकी गुञ्जनलाई उनका बुबा तुंगनाथले बच्चैदेखि गायन तथा संगीतको क्षेत्रमा डोर्याएका हुन् ।

बाबाको साथमा काठमाडौं मालीगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबलाबादक पं. होमनाथ उपाध्यायले स्थापना गरेकाे ‘प्रस्तार’ समूहको साधना नजिकबाट अनुभव गर्ने मौका पाइन् । यसले पनि उनलाई सांगितिक क्षेत्रमा लाग्न थप उर्जा र ज्ञान मिल्यो । 

बागबजारकाे केएमसी कलेजमा पढाइ चलिरहेकै बेला उनी अमेरिकातिर लागिन् । त्यतिबेला उनी चण्डी काफ्लेसित शास्त्रिय संगीत सिक्दै थिइन् भने गुरू पं होमनाथ उपाध्याय र सन्तोष वर्मासंग तबला पनि सिकिरहेकी थिइन् । 

उनले माधुरी ताई, पद्मविभुषण रामदेश पाण्डेकी श्रीमती अर्चना देशपाण्डे आदि गुरूहरुबाट पनि केही समय गायन सिकिन् । उनले काठमाण्डौमै प्रवीण बुडापिर्थी सँग केही समय पियानो समेत सिकिन् । 

गुञ्जनको  घरमा सांगीतिक माहोल रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिइन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी, रुपक र नोर्वु छिरिङबाट भायोलिन । गुञ्जनका बुुवा तुंगनाथ स्कुलहरुमा र स्कुल बाहिर सांगीतिक कार्यक्रमहरु चलाउँथे ।

नेपालबाट अमेरिका पुगेपछि पढाइको साथसाथै उनको सांगीतिक यात्राले पनि उचाइ लियाे । अहिले विभिन्न कार्यक्रमहरुमा उनका प्रस्तुतिले विशेष महत्व पाउँदै गैरहेका छन् ।

उनी अमेरिमामा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा गाउँथिन् । त्यसै क्रममा सन् २०१३ मा नेपालीहरुद्धारा संचालित संस्था ए.एन.ए.को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिएर प्रथम पनि भइन् । यसले उनलाई थप हौसला प्रदान गर्दै थप उचाइमा पुर्यायो । 

सन् २०१५ मा ट्वान्टि आवर्स रेडियो स्टेसनले आयोजना गरेको ‘ट्यालेन्ट सिंगिंग कम्पिटिसनमा’ पनि भाग लिइन् । डालसका ६० उत्कृष्ट सहभागीमध्ये हिन्दी गीतमा उनीमात्र एक नेपाली चेली थिइन् जसले फस्ट रनर अपको उपाधि हात पारिन् ।

उनले गाएका विभिन्न कभर गीत पनि दर्शकले रुचाएका छन् । हाइलाइट्स नेपालमार्फत केही समयअगाडि मात्र उनले आफ्ना बुवाको शब्द तथा संगीतमा ‘माया कस्तो लाएँ’ बोलको गीत दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया