कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
अष्ट्रेलिया - नेपालमा अहिले लुगलुग कँपाउने जाडो छ । हिउँ खेलाएजस्तै चिसाे छ । तर नेपालीसहित संसारका धेरै देशका मान्छे बसोबास गर्ने अष्ट्रेलियामा भने हपहपी गर्मी छ ।
मध्य जनवरीको मंगलबार विश्वभरीका मौसम विभागहरुले तापमानको एउटा चित्र निकाले, जसमा संसारका ताता १५ क्षेत्रहरुको चर्चा गरिएको थियो । चर्को गर्मीले आक्रान्त पारेको ती १५ क्षेत्र सबै अष्ट्रेलियाको नक्सामा थिए ।
बुधबार तथा बिहीबार तास्मानिया समुद्रको पानीले बाफिलो तथा रापिलो हावाको बहाव अष्ट्रेलियाको सतहतिर फैलिरहेको जानकारी आयो । मौसमका विभिन्न रेखाचित्रहरुले पनि अष्ट्रेलियाको अधिकांस क्षेत्रमा तातो हावा बहने पक्का गर्यो ।
बुधबार अष्ट्रृलियाका सञ्चारमाध्यममा एउटा भिडियो 'भाइरल' भयाे । भिडियाेमा एडिलेडका केही युवाले कारको छत खोलेर गाडीभित्र पानी भरेका थिए । पोखरी जस्तो बनेको कारमा चोपलिएर सडकमा गुडाउन थालेपछि धेरैलाई रमिता भयो । चर्काे गर्मीबाट बच्न आफुहरुले त्यसो गरेको उनीहरुको दावी थियो ।
सिड्नीको मुख्य शहरबाट ५० किलोमिटर टाढाको पेनरिथमै शुक्रबार ४१ डिग्री तापक्रम मापन भयो । पछिल्लो बुधबार, बिहीबार र शुक्रबार अष्ट्रेलियामा भुङ्रोमा परेको अनुभव भैरहेको छ । राजधानी क्यानबेरा पनि उच्च तातो हवामा रापिएको छ । घाममा निस्किँदा गर्मीमा डँढोलो तापेजस्तो लाग्छ । मध्यरातमा पनि एसी नभएको ठाउँ अथवा घर बाहिरको हावाले हपहपी तातो अनुभव हुन्छ ।
दक्षिण अष्ट्रेलियामा त तापक्रम अझ उच्च छ । मान्छे छत बाहिर घाममा निस्कन सक्ने अवस्था नै छैन । साउथ अष्ट्रेलिया राज्यको ट्राकूलामा तापक्रम गएको मंगलबार ४९.९ डिग्री मापन गरियो जुन अष्ट्रेलियाभरिकै सबैभन्दा रापिलो अवस्था हो । मध्य दिनमा लामा राजमार्गमा गाडीका टायर र पीचसमेत पग्लिन थालेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यु साउथवेल्स राज्यको ओक्सले राजमार्ग दिउँसो मध्यान्हमा पग्लने गरेको स्थानीयले फेसबुकमा पोष्ट गरेका छन् ।
तातो हावा अष्ट्रेलियाको धेरै घातक प्राकृतिक विपत्ति हो । यस्तो उच्चस्तरको तातो हावाले बुढाबुढी, बालबालिका र बिरामीलाई चाँडो असर गर्छ । तातो हावाका कारण समुद्रको पानीमा उच्च दबाब पर्छ र आकाश खुलेर उच्च तापक्रमका साथ घाम लागेको बेला झन घातक तातो हावा बहन्छ । तास्मानिया आसपास र भिक्टोरिया, राजधानी क्षेत्र, दक्षिण अष्ट्रेलिया र न्यु साउथ वेल्स राज्यका विभिन्न भागमा त्यस्तो खतरनाक तातो हावाको समस्या छ ।
अष्ट्रेलियाको मौसम विभागका मौसमविद सराह फिटनले पत्रकारहरुलाई भने, 'पोर्ट अगस्टा क्षेत्रमा पनि यसपालि लगभग ५० डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ र यो सुरुवाती अवस्था हो यसमा यसै बढोत्तरी पनि हुनसक्छ ।' विज्ञहरुले ६ वर्ष अघिको जस्तो उग्ररुपमा तातो हावा चल्ने अवस्था रहेकोले विशेष सावधानीका साथ आफ्नो दैनिक योजना बनाउन र परिवारका पुरै सदस्यका लागि सतर्कता अपनाउन भनेका छन् ।
अष्ट्रेलियामा तातो हावासँगै झाडीहरुमा डढेलोको खतरा हुन्छ । अनि असिना वर्षिने र रुख लडाउने गरी हावा र पानी समेत आउन सक्छ । गम्भीर प्रकृतिको चट्याङ पनि पर्न सक्ने खतरा छ । समुद्रबाट आउने आँधीको खतरा त हुने नै भयो । गर्मीसँगैको हावा र पानीबाट बच्न भिक्टोरिया राज्य सरकारले आफ्ना गाडीहरु छतमुनी मात्रै पार्किङ् गर्न अनुरोध गरेको छ । रुख मुनी,, बिजुलीको पोलहरुको नजिक र छतहरु उडाउने ठाउँ आसपासमा नरोक्न भनेको छ ।
गर्मीको बेला यहाँका स्थानीय सरकारले त्यो दिनको तापक्रमको पूर्वानुमान गरेर आगो बाल्न पूर्ण प्रतिबन्ध लगाउँछन् । हरेक प्रचण्ड गर्मीको दिन बिहान ११ बजेदेखि ३ बजेसम्म आगो नबाल्न सरकारहरुले सूचना जारी गरेकाे छ । विद्युतीय चुल्हो र माइक्रो वेभमा खाना पकाएर खान सकिन्छ । भिक्टोरिया, एसिटीका सरकारले गर्मीका दिनहरुमा आगो बाल्न नै प्रतिबन्ध लगाउने गरेका छन् ।
अष्ट्रेलियाका आठवटै राज्य सरकार र संघीय तथा स्थानीय सरकारहरुले पनि पर्याप्त पानी पिउन, पार्किङ् गरेको कारमा एक्लै कसैलाई नछोड्न, चिसो पारेको ठाउँमा बस्न, तातोबाट बच्ने पूर्व तयारी गर्न र अरुलाई पनि सहयोग गर्न विशेषा अनुराेध गरेका छन् ।
स्थानीय प्रसारणहरु सुन्न, मौसमको पूर्वजानकारी राख्न र आपत परेमा तुरुन्त इमरजेन्सी नम्बरहरुमा फोन गर्न अनुराेध गरिएकाे छ।
हिन्द तथा प्रशान्त महासागर बीचको संसारको सबैभन्दा ठूलो टापु महादेश हो अष्ट्रेलिया । संसारका अधिकांस देशका मान्छे हिउँ परेर लुगलुग काँपिरहेको बेला अष्ट्रेलियामा भने हपहपी गर्मी हुन्छ ।
दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट उज्यालो अनलाइनका सामग्री तयार पार्नुहुन्छ।