नगरबासीसँग मेयर, यस्ता छन् स्थानीयका समस्या

 माघ ५, २०७५ शनिबार १२:४९:२० | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – मतदाताका समस्या, गुनासा र सुझाव संकलन गर्न तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे गाउँ–गाउँ पुग्नुभएको छ । चुनावपछि सर्वसाधारण नागरिकहरुसँग भेटघाट पातलिएको र चुनावअघि गरेका प्रतिबद्धता पूरा भए/नभएको बुझ्न मेयर तुम्बाहाम्फेसहित जनप्रतिनिधिको टोली सबै वडासम्म पुगेको हो ।

नगरपालिकाका दश वटा वडा छन् । सबै वडामा पुगेर भेटघाट, समस्या र गुनासो सुन्ने तथा सुझाव संकलन गर्ने कार्य सम्पन्न गरेको मेयर तुम्बाहाम्फेले बताउनुभयो ।

मेयर तुम्बाहाम्फेले ‘नगरबासीसँग मेयर’ कार्यक्रम अन्तर्गत सबै वडामा गुनासो सुन्ने कार्यक्रम आयोजना गरी मतदाताका गुनासा र समस्या सुन्नुभएको हो । यो कार्यक्रम अन्तर्गत सबै वडामा सार्वजनिक सुनुवाई र जनप्रतिनिधि र सर्वसाधारणकाबीचमा प्रत्यक्ष सवाल–जवाफसमेत भएको छ । सर्वसाधारणले नगर प्रमुखसहित जनप्रतिनिधिहरुलाई आफ्ना समस्या सुनाएका छन् । 

नगरपालिकाले पुस १ गतेबाट २३ गतेसम्म १० वडाका ११ स्थानमा गरेको गुनासो सुन्ने कार्यक्रममा १ सय ९३ जना नगरबासीले सुझाव र गुनासो राखेका छन् । त्यसमध्ये सबैभन्दा बढी खानेपानीसम्बन्धी माग रहेका छन् । सबै वडामा खानेपानी, सिंचाई र कृषिसम्बन्धी मागहरु बढी आएका नगर प्रमुख तुम्बाहाम्फेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नगरबासीका समस्या बुझ्नकै लागि कार्यक्रम राखिएको थियो, धेरै सकारात्मक सुझावहरु प्राप्त भएका छन्  ।’ नगरपालिकाको वडा नं. १, २, ४, ५, ९ र १० बाट खानेपानी र सिंचाईसम्बन्धी मागहरु बढी आएका छन् । 

यस्तै वडा नं. ३, ४, ५, ६, ७ र ८ बाट कृषिसम्बन्धी मागहरु बढी आएका छन् । अधिकांश किसानले सिंचाईकालागि पाइप, प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल, कृषिसम्बन्धी तालिम, प्राविधिक सेवा, अनुदान र बजार व्यवस्थापनको माग गरेको उपप्रमुख पार्वती डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले २ सय पाइपदेखि करोडौंका कृषि योजनासमेत माग गरेका छन्, हामीले सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौँ ।’ गुनासो राख्ने नगरबासीका समस्या सम्बोधन गर्ने क्रममा ५० लाख बढी रुपैयाँ बजेटको बचन दिइएको नगर प्रमुख तुम्बाहाम्फेले बताउनुभयो । 

ज्येष्ठ नागरिक सहायतामा ८ लाख वितरण

नगरबासीसँग मेयर कार्यक्रम अन्तर्गत नगरपालिकाले सबै वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रति व्यक्ति २ हजार ५ सय रुपैयाँ वितरण गरेको छ । नगरपालिकाले ३ सय ५५ जनालाई नगद २ हजार ५ सयका दरले सहायता रकम वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताउनुभयो । 

कार्यक्रमका क्रममा २ सय ४१ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र परामर्शसमेत गरिएको नगरपालिकाले प्रवक्ता सुनिल लिम्बुले बताउनुभयो । नगरबासीसँग मेयर कार्यक्रममा नगर क्षेत्रका २ हजार बढी सर्वसाधारण प्रत्यक्ष सहभागी भएका र जिल्लाका दुईवटा सामुदायिक रेडियोमार्फत प्रत्यक्ष प्रशारण गरी सबै नगरबासीसम्म पु¥याउने प्रयत्न गरिएको नगरका प्रवक्ता लिम्बुले बताउनुभयो । नगरपालिकाले यो कार्यक्रमबाट प्राप्त सुझाव, जिज्ञासा र उपलब्धिहरु समेटेर पुस्तकसमेत प्रकाशनको तयारी गरेको छ ।  

राजश्व संकलन ३३ प्रतिशत बढी

नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा गएकोवर्षको भन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले गएको वर्षको भन्दा ५ लाख ७२ हजार १ सय ९१ रुपैयाँ राजस्व बढी संकलन गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को साउनदेखि पुस मसान्तसम्म २२ लाख ९२ हजार ६ सय ७० रुपैयाँ राजस्व संकलन गरेको राजस्व शाखाका खगेन्द्र भण्डारीले बताउनुभयो ।

यो अवधिमा गएको वर्ष १७ लाख २० हजार ४ सय ७९ रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । यस्तै चालु आर्थिक वर्षमा योजना कार्यान्वयन समेत अघि बढेको जनाइएको छ । नगरपालिकाले सन्चालन गर्ने योजनाहरु बैशाख भित्रै सम्पन्न गर्ने उदेश्यसहित उपभोक्ता समिति गठन, अनुशिक्षण र सम्झौतासमेत धमाधम भइरहेको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

उहाँले गएका दिनमा जस्तो असारमा मात्रै विकासे काम गर्ने परम्परा यो वर्ष नदोहोरिने बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ३ सय ८० वटा योजनामध्ये १ सय ५६ वटा योजनाको सम्झौता भइ काम सञ्चालन भएका छन् । बाँकी २ सय १७ वटा योजनाहरुको प्राविधिक फाँटमा काम भइरहेको नगरपालिकाले जनाएको छ । यस्तै ६१ वटा योजनाहरुको सम्झौता हुन बाँकी रहेको जनाइएको छ ।

भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले भ्रष्टाचारजन्य गतिविधि हुन नदिन आफूले जोड दिएको बताउनुभयो । नगर प्रमुख तुम्बाहाम्फेले पत्रकारहरुसँग साक्षात्कार गर्दै नगरपालिकाको सेवा प्रवाह र योजना कार्यान्वयनका क्रममा कुनै पनि किसिमको अनियमितता वा ढिला हुन नदिने बताउनुभयो ।

गैरकानुनी गतिविधि वा भ्रष्टाचार गरे÷भएको थाहा पाएमा सिधै आफुलाई सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभयो । योजना कार्यान्वयनमा प्राविधिकले कमिसन माग्ने गरेकाप्रति लक्षित गर्दै नगर प्रमुख तुम्बाहाम्फेले अब प्राविधिकहरुले समेत त्यस्तो मागेको या दिएको थाहा पाएमा कारवाही हुने बताउनुभयो ।

उहाँले प्राविधिक कर्मचारी सबैलाई नगरपालिकाले थप सेवा सुविधाको व्यवस्था गरेको भन्दै तोकिएको काम र जिम्मेवारी पूरा गर्न र नगरको विकास संमृद्धिमा सहयोग पुर्याउन आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • राजेन्द्र राम

    Jan. 19, 2019, 2:42 p.m.

    हाे यसरिनै हरेक पदमा चुनिएका पदाधिकारीले आफनाे कर्तब्यलाई सम्झिदै जनताका समस्यालाई बुझन जनता माझ आएर समस्याको समाधान गर्ने हाे भने हामीजस्ताेे बिकास उन्मुख देश पनि छिटै प्रगतिको बाटोमा दौडने थियोे हाेला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया