केटाको कपाल काट्ने दीपा : फरक काम गर्ने चाहनाले सफल बनायो

 माघ ५, २०७५ शनिबार १३:५९:२० | मोहन पौडेल

काठमाण्डौ –‘म केटाको कपाल काट्न सिक्नु पर्‍यो’ दीपाले काम सिक्ने प्रस्ताव राख्दा श्रीमानले सोध्नुभयो, ‘सक्छेउ र ?’ त्यो, बेला नै त्यस्तै थियो । दीपाको मात्रै होइन, जोसुकैका अभिभावकले पनि कपाल काट्ने काम गर्छु भन्दा सजिलै पत्याउँदैन थिए।

दीपालाई श्रीमानको प्रश्न स्वभाविकै थियो । किनकी यो कुरा आजभन्दा झण्डै २१ वर्षअघिको हो ।त्यतिबेला महिलाले कपाल काट्ने काम गर्छु भन्नुनै अनौठो थियो । असम्भव जस्तै सझिन्थे धेरैले ।

त्यसमा पनि दीपा सुवेदीले केटाको कपाल काट्ने काम गर्न आँट गर्नुभएको थियो । अरुले असम्भव देखेको त्यही काम सम्भव बनाउने रहर जाग्यो दीपालाई । 
त्यही रहरले दीपालाई डिबी क्षेत्रीको सैलुनमा पुर्‍यायो । यो हेटौंडामै हुँदाकै कुरा हो । डिबी क्षेत्री त्यतिबेलाका पढेलेखेकै मान्छे ।

दुई तीन वर्ष विदेश बसेर कमाएर फर्किनुभएको । उहाँ पनि केटा र केटी दुवैको कपाल काट्ने सैलुन खोलेर काम गरिरहरनुभएको थियो । दीपाले त्यहीँ सिक्नुभयो कैंची समाउन । उहाँलाई केटीको कपाल काट्ने र मेकअप गर्ने काममा न रस पस्यो न चाख लाग्यो ।

अरुले गरेकोभन्दा फरक केही गरौं भन्ने लागेपछि उहाँले त्यहीँ केटा मान्छेको कपाल काट्ने काम सिक्नुभयो । ‘अरुले गरिरहेको भन्दा फरक गरौं न भन्ने लागिरहन्थ्यो त्यही भएर मैले चाहिँ केटाको कपाल काट्ने काम सिकेको’ दीपाले केटाको कपाल काट्न सिक्नुको कारण सुनाउनुभयो ।

आफ्नो यो साहसमा उहाँलाई कैंची समाउन सिकाउने डिबी क्षेत्रीको पनि ठूलो साथ छ भन्नुहुन्छ दीपा । त्यतिबेला अरु महिलाले पुरुषको कपाल काटेको देख्नुभएको थिएन । त्यसैले अरु कसैको प्रेरणा छैन दीपाको यो काममा । त्यही भएर नै उहाँ यसको कारण फरक काम गर्न खोज्नुलाई दिनुहुन्छ । 

सुरुमा त श्रीमान सुन्दरप्रसाद सुवेदीले पनि सक्छेस त ? भन्नुभएको थियो । तर नगर भन्ने तरिकाले होइन,  नसक्ने पो हो कि भनेर ? दीपाले श्रीमानसँग आँट माग्नुभयो । पाउनु पनि भयो ।  त्यही भएर अरुले नगरेको काम गर्न खोज्दा उहाँ यो क्षेत्रमा पुग्नुभयो । 

दीपाको सिकाइको सुरुवात श्रीमानकै कपाल कटाईबाट भयो । श्रीमान र गुरुको साथले हिजोसम्मको कामको चाहना आज नशा भइसकेको थियो दिपाका लागि । ‘अब त गर्छु गर्छु भन्ने भयो ।’ दीपा थप्नुहुन्छ ।  

‘यो १८ वर्ष अघिको कुरा हो । अहिले त ब्युटिसियनलाई हेर्ने दृष्टिकोण सकारात्मक भइसकेको छैन भने त्यतिबेला त कम्ती चुनौतीपूर्ण थियो होला त’, दीपाले भन्नुभयो ‘फलानोको श्रीमती अर्कालाई छुन र दाह्री मसाज गर्न गएकी छे भन्थे ।’ 

नकारात्मक टिप्पणी गर्नेहरुले यस्तो ‘जाबो’ काम के गरेको होला भन्थे । तर दीपाले सुरु गरेको काम उनीहरुले भनेको जस्तो जाबो थिएन । हुन त चटपटे, पानीपुरी बेचे पनि हुन्थ्यो । तरकारी बेचेपनि कमाउन सकिन्थ्यो ।

तर दीपाको मन ती काममा जाँदै गएन । त्यसैले उहाँले धेरैले आलोचना अनि थोरैले राम्रो भनेकै काम रोज्नुभयो । दीपालाई आलोचनाबाट बचाएर अघि बढ्न सघायो श्रीमानको साथले ।  राम्रो गरेर यही समाजलाई देखाउँछु भन्ने सोचले दीपालाई पछाडि फर्किएर हेर्नु परेन । 

चार महिना काम सिकेपछि दीपा केटाहरुले भनेको जस्तै कपाल काट्न तयार हुनुभयो । तर १० कक्षा पास गरेका छोराले छात्रवृत्तिमा नाम निकालेपछि दीपा परिवारको साथहेटौंडाबाट काठमाण्डौ आउनुपर्‍यो ।

पहिलो पटक केटाको कपाल काट्दा श्रीमानसँगै 

हटौंडामा काम सिकेकी दिपाले पैसा लिएर केटा मान्छेको कपाल काटेको काठमाण्डौ आएपछि हो । चिनेकै मान्छेको सैलुन भएकाले काम माग्न गाह्रो भएन । पहिलो पटक केटाको कपाल काट्दाको दिन अझै सम्झना छ दीपालाई ।

त्यही दिन सम्झिँदै उहाँले सुनाउनुभयो ‘नचिनेको मान्छेको नजिक भएर काम गर्नुपर्दा अप्ठ्यारो लागेको थियो । काम गर्दा गर्दै छोइने रहेछ ।’त्यतिबेला छेउमै बसेकाश्रीमानले आँखाको इशाराले अलिक परै बस भनेर संकेत गर्नुभएको थियो दीपालाई । 

दीपालाई श्रीमान रिसाउनु पो भयो कि भन्ने लागेको थियो । अनुहार रातो पीरो भएको थियो । तर श्रीमान रिसाउनुभएको थिएन । कामले उभिने दुरी आपैंm सिकायो उहाँलाई । कति मिटर पर बसेर काम गर्नुपर्छ दीपाले पछि आफैं थाहा पाउनुभयो । 

यो त श्रीमानको सुझाव र आफ्नो कामले सिकायो उहाँलाई । तर सँगै ग्राहकले चाहिँ आफूले गरेको काम चित्त बुझाउने हुन् कि होइनन् भन्ने पनि पीर थियो दीपालाई । किनकी महिलाले गाडी चलाएको देख्ता ए.. केटी पो ...भन्ने समाजकै कुरा सुनेर हुर्किनुभएको थियो दीपा । 

यस्तै शब्द दीपासँग कपाल काट्न आउने केही व्यक्तिको मुखबाट  पनि सुन्नुपर्यो दीपाले । तर उहाँ रिसाउनुभएन । बरु सम्झाउनुभयो । उहाँ भन्नुहुन्थ्यो, ‘बिहानदेखि बेलुकासम्म तपाईंको घरका सबै काम महिलाले नै त गर्ने हो, अनि यो कामलाई चाहिँ तपाईंहरु किन महिलाले गरेको भनेर नराम्रो भन्नुहुन्छ ?’  

केहीले त राम्रो भएन पनि भने । तर जुन ठाउँमा दीपा काम गर्न जानुभयो, त्यो सैलुनका साहुले धेरै जिम्मा उहाँलाई दिए । त्यसैले जसरी पनि काम गर्नै पथ्र्यो । यही बाध्यताले उहाँको हात छिट्टै बस्यो ।

केही महिनामै उहाँ कपालको स्लोप मात्रै होइन केटाहरुले भन्ने ओ कट्, मसरुम कट्, भाले कट् सबैथरी स्टायलमा कपालकाट्न सिपालु हुनुभयो । अहिले त दीपा त्यो बेलाका तिनै भनाईले आफूलाई यहाँसम्म ल्याएको हो भन्नुहुन्छ ।

भनेको जस्तो भएन भन्नेलाई ‘सरी’ अनि राम्रो भयो भन्नेलाई धन्यवाद भन्ने बानीले कहिल्यै पनि ग्राहकसँग नराम्रो भएन दीपाको । पछि त पहिला नराम्रो भन्ने तिनै व्यक्तिहरुलाई खै दीपा जी कहाँ हुनुहुन्छ ?भनेर सोध्ने बनाउनुभयो । सैलुनमा भनेको बेला बिदा पाईंदैन ।

त्यसैले दीपा भन्नुहुन्छ ‘यो कामको नराम्रो पक्ष भनेको आफूले भनेको र चाहेको बेलामा बिदा नपाउनु हो । झन केटाको कपाल काट्नेहरुले त शनिबार बिदा पाउँदैनन् । किनकी केटाहरु प्रायः जसो शनिबार बिदाकै दिन कपाल काट्न आउँछन् ।’

यति हुँदा पनि दीपालाई यो कामसँग अहिलेसम्म दिक्क लागेको छैन । कारण यसबाट राम्रै कमाइ भइरहेको छ । केटाको कपाल काट्नेले अरुको सैलुनमा काम गर्दा ५० प्रतिशत पैसा पाउँछन् । ‘एक सय रुपैयाँमा कपाल काटियो भने ५० रुपैयाँ काट्ने व्यक्तिको भयो ५० रुपैयाँ पसलका साहुको ।’ दीपाले कमाइको काइदा सुनाउनुभयो । 

झण्डै ७ वर्ष दीपाले त्यही सैलुनमा काम गर्नुभयो । त्यहाँ काम गर्दा महिनाको २०÷२५ हजार रुपैयाँकमाइ हुन्थ्यो उहाँको । 

काम गर्नेबाट प्रशिक्षकसम्मको यात्रा 

त्यहाँ काम गर्ने क्रममा एक जना युवती दीपासँग केटाको कपाल काट्न सिक्ने भन्दै पुगिन् । उनले तालिम लिइसकेकी थिइन् । तर हात बसाउनु थियो । ब्युटिसियनको कोर्स गरिसकेकी थिइन् उनले । 

दीपासँग हातमा सीप थियो तर प्रमाणपत्र थिएन । तिनै युवतीले यतिको सीप भएको व्यक्तिले त प्रमाणपत्र लिनुपर्छ भनेर कलङ्कीमा रहेको रोज सीप विकास तालिम केन्द्रमा पुर्‍याइदिइन् दिपालाई । 

त्यहाँ पुगेर दीपाले आफूसँग भएको सीपमा सैद्धान्तिक ज्ञान थप्न पाउनुभयो । त्यति मात्रै होइन सीपकै कारणले उहाँले यही केन्द्रमा काम गर्ने अवसर पनि पाउनुभयो । सैद्धान्तिक ज्ञान पनि लिएपछि उहाँ अहिले प्रशिक्षक बन्नुभएको छ । 

कामदार हुँदा २०/२५ हजार रुपैयाँ कमाउने दिपाले ठ्याक्कै आफ्नो कमाई बताउन चाहनुभएन । ‘तलब त नभन्नु भन्छन्’ रोज सीप विकास तालिम केन्द्रको एउटा कोठामा विद्यार्थीलाई काम सिकाउँदै गरेकी दीपाले हाँस्दै कुरा मोड्न खोज्नुभयो । प्रष्ट भन्न नचाहे पनि उहाँको कुराबाट थाहा हुन्थ्यो, प्रशिक्षक भएपछि उहाँको कमाई दोब्बर भएको छ ।

अर्काको सैलुनमा कपाल काटेर २०/२५ हजार रुपैयाँ कमाउनुहुन्थ्यो भने अहिले त्यसको दोब्बर हुन्छ है भनेर सोधेपछि दीपाले अँ त्यस्तै भन्नुभयो । अहिले आफूले गरेको काम मात्रै होइन महिलाहरुले ठूल्ठूला ठाउँमा पुगेर प्रशंसनीय काम गरेको देख्दा दीपालाई गर्व लाग्छ । केटाले र मैले कपाल काट्नुमा के फरक छ र हैन ? दीपाले भन्नुभयो ।

अन्तिम अपडेट: साउन ११, २०७६

मोहन पौडेल

उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया